काठमाडौँ – चोटका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्दनमा लगाइएको १२ टाँका चार दिनपछि काटिने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले भदौ २४ गते बूढानीलकण्ठस्थित निजी निवासमा आगजनी र तोडफोड गर्दा देउवा दम्पतीलाई बाहिर निकालेर कुटपिट गरेका थिए । कुटपिटबाट गर्दनमा गम्भीर चोट लागेका देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको छ । टाँका आजको चार दिनपछि काट्न मिल्ने उपचारमा संलग्न डाक्टरहरूले बताएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । डाक्टरहरूले चोटमा लगाइएका टाँका ४ दिनपछि मात्रै काट्न मिल्छ भन्नुभएको छ,’ स्वकीय सचिव भानुले सोमबार रातोपाटीसँग भने, ‘त्यसपछि घाउ हेरेर बल्ल कहिले डिस्चार्ज गर्ने भन्ने निश्चित हुन्छ । आन्दोलनकारीले देउवामाथि कुटपिट गर्दा सँगै रहेकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि पनि कुटपिट गरेका थिए । कुटपिट हुँदाको समयसम्म तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेकी डा. राणाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । उनको पनि मुहार र शरीरमा चोट लागेकाले डिस्चार्जको निर्क्यौल भइसकेको छैन । गत शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नेताहरूलाई देउवाको स्वास्थ्यावस्थाबारे ब्रिफिङ गर्दा गर्दनमा गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको र केही समय अझै अस्पतालमा राख्नुपर्ने भएको बताएका थिए । कार्यसम्पादन समिति बैठकले देउवा निको भएर अस्पतालबाट डिस्चार्ज भएपछि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । यसैबिच पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दसैँ अघि केन्द्रीय कार्यसमिति बैठक बस्ने सम्भावना कम रहेको बताएका छन् । ‘कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । मिति कहिले भन्ने टुङ्गिएको छैन । दसैँअघि बैठक बस्ने सम्भावना छैन । दसैँ पछि बैठक आह्वान हुन्छ,’ मुख्यसचिव पौडेलले रातोपाटीसँग भने ।साभार : रापा












