माओवादी केन्द्रीय समितिमा नेतृत्व परिवर्तनका तीनथरी प्रस्ताव…..

काठमाडौं –     जेनजी आन्दोलनबाट एकैपटक बढारिएपछि राजनीतिक पार्टीहरुमा नेतृत्व परिवर्तनको चर्को दबाब बढेको छ । यही दबाबमा कारण आन्तरिक संघर्ष चल्न थालेपछि नेकपा माओवादी केन्द्रको बिहीबारबाट केन्द्रीय समितिको बैठक सुरु भएको छ । जसमा नेताहरुका तीन थरी प्रस्ताव आएका छन् । अध्यक्ष पुप्पकमल दाहालले विशेष महाधिवेशन गर्ने त्यतिन्जेलसम्म सबै कमिटी भंग गरी आफू संयोजक रहने प्रस्ताव गरेका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीन दशक भन्दा बढी नेतृत्व गरेको व्यक्तिमाथि प्रश्न उठेकाले अब नेतृत्व हस्तान्तरण गरिहाल्नुपर्ने र तत्काल आफूलाई दिनुपर्ने प्रस्तावसहितको दस्तावेज ल्याएका छन् । उपमहासचिव जनार्दन शर्माले चाहिँ अहिले पदाधिकारी तहमा रहेका कोही पनि व्यक्ति फेरी नेतृत्वमा नआउने गरी पार्टी पुनर्गठनको प्रस्ताव गरेका छन् । जुन प्रुस्तावहरुमाथि केन्द्रीय समिति बैठक समूहगत छलफल भइरहेको छ । बिहीबारबाट सुरु भएको बैठकमा सुरुमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान पदाधिकारी र केन्द्रीय समिति भंग गर्ने र महाधिवेशन आयोजक समिति गठनको प्रस्ताव राखे । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने एजेण्डा प्रस्तुत गरे । पार्टी कमिटीमा जेनजी र युवा पुस्ताको प्रतियनिधित्व ५० प्रतिशतसम्म पुर्‍याउने बताए । तर, सडकबाट जेनजीहरूले जसरी सुशासन र भ्रष्टाचारको विषयमा आवाज उठाएका थिए । तीन एजेण्डा अध्यक्ष प्रचण्डले प्रस्तुत गरे न अन्य नेताहरूले । प्रचण्ड लगत्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बोले । प्रचण्डलाई नेतृत्व छाड्न र आफूलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिन प्रस्ताव राखे । विशेष महाधिवेशन आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको चुनावभन्दा पछाडि गर्ने प्रस्ताव अगाडि सारे । त्यसपछि उपमहासचिव जनार्दन शर्माले वर्तमान पदाधिकारी फेरि नआउने गरी नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको प्रस्ताव गरेका थिए । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रहेर पार्टीको वैचारिक क्षेत्रमा काम गर्ने उनको प्रस्ताव छ । ‘नयाँ पुस्ताबाट नयाँ नेतृत्व स्थापित गरौं । त्यो हामी भन्दा अझ बढी खट्न पनि सक्छौं’ शर्माको आग्रह छ । माओवादीका नेता सन्तोष बिस्टका अनुसार जनार्दनको प्रस्तावले एकप्रकारको तरंग नै पैदा गरेको छ । केन्द्रीय समितिको बैठक अगाडि उपमहासचिव शर्माले आफू अध्यक्ष हुने गरी प्रचण्डलाई हटाउन खोजेको सन्देश प्रवाह भएको थियो । तर, केन्द्रीय समितिमा वर्तमान पदाधिकारी कोही पनि नआउने प्रस्ताव राखेपछि माहोल केही मोडियो । तीन जना नेताले बोलिसकेपछि तीन वटै प्रस्ताव उपर छलफल गर्न १० वटा समूह बने । १० वटै समूहमा एकसरो भयो । शुक्रबार बिहान ११ बजे केन्द्रीय समितिको बैठकमा निष्कर्ष प्रस्तुत गर्नेछन् । नेताहरूका अनुसार समूहगत छलफलमा जसरी तीन जना नेताले विषय प्रस्तुत गरे त्यसैगरी छलफल चलेको छ । नेतृत्व परिवर्तनको विषयमाथि ज्यादा छलफल हुँदा भ्रष्टाचार लगायतका विषयको छलफल भने कम प्राथमिकतामा छ । कपिलवस्तुबाट केन्द्रीय समितिमा रहेका काशीराम यादवका अनुसार केन्द्रीय समितिको बैठकमा जेनजी आन्दोलनकै कारण बैठक बसेको हो । ‘जेनजीले सुशासन र भ्रष्टाचारको विषय उठाएका छन्’ काशीराम स्मरण गर्छन, ‘हाम्रो पार्टी अध्यक्षले भ्रष्टाचार विरुद्धको अभियानमा आफैँबाट अनुसन्धान सुरु गर्न भन्नुभएको छ । यही भन्ने हिम्मत सबैले राख्नुपर्छ र अनुसन्धानका लागि तयार हुनुपर्छ ।’ तर, यो ढंगले केन्द्रीय समितिको बैठकमा छलफल भएको छैन । माओवादी केन्द्रका नेता रञ्जित तामाङका अनुसार यी भ्रष्टाचारका विषय माओवादीले विगतदेखि नै उठाउँदै आएका हुन् । माओवादीले आफूले नै उठाएका विषय सही ढंगले कार्यान्वयन हुन नसक्दा जेनजी आन्दोलन उठेको हो । हामीले सुशासन, सेवा प्रवाह, संरचना र नीतिका मुद्दा र एजेण्डालाई विगतदेखि नै उठायौं । ती मुद्दाहरू हामीलाई असाध्यै महत्वपूर्ण लागे । तर, समय क्रममा छोड्दै आयौं,’ उनी भन्छन्, ‘नीति सबै माओवादीको, मुद्दाहरू सबै माओवादीको छ । तर, जनताको विश्वास जति जित्न सक्नुपर्ने थियो त्यो जित्न सकेनौं ।’ यही कारण जेनजी आन्दोलन हुनुपरेको र हुन पुगेको उनको निष्कर्ष छ । यसको कारण स्वयं माओवादी भएको उल्लेख गर्दै उनी थप्छन्, ‘हाम्रो नेतृत्व पनि विवादरहित हुन सकेन । नेतृत्वको आचरण र शैली हेर्दा कांग्रेस र एमालेको जस्तै बन्ने वातावरण बन्यो । अब फेरि पार्टीले मुलुकको नेतृत्व गरी अगाडि बढ्न नेतृत्वमा पुस्तान्तरण हुन आवश्यक रहेको उनको तर्क छ । उनी थप्छन्, ‘एजेण्डा र मुद्दाले मात्रै माओवादी बाँच्न सक्दैन । धेरै एजेण्डा र मुद्दा माओवादीका हुन भनेर मात्रै माओवादीको अस्तित्व नरहन सक्छ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार