पर्यटकको सिजनमै सुनसान छ ठमेल…..

काठमाडौँ –     नेपालकै प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा हरेक वर्ष यो सिजनमा विदेशी पर्यटकले भरिभराउ हुने ठाउँ हो । असोज–कार्तिकलाई यहाँको ‘गोल्डेन सिजन’ मानिन्छ । होटलदेखि सवारीदेखि ट्राभल एजेन्सीसम्म सबैको व्यापार चम्किने बेला हो यो । तर यसपटक वर्ल्ड टुरिजम डे (सेप्टेम्बर २७) को दिनमै ठमेलको माहौल केही फिका देखिन्छ । ४५ वर्षका मदन अधिकारी, जसले २६ वर्षदेखि ट्राभल एजेन्सी चलाइरहेका छन् । उनी भन्छन्,
“२०२५ मा बुकिङ राम्रै थियो तर जेनजी आन्दोलनपछि २५ प्रतिशत घट्यो । युरोपबाट अझै बढी ग्राहक आउँछन्, अनि चीन–भारतबाट पनि आउँछन् । तर राजनीतिक अस्थिरता र सुरक्षा समस्याले साँच्चिकै असर गरेको छ।”

thamel (2)उनका अनुसार अहिलेको सिजनमा मनासलु, एभरेस्ट र लाङटाङ क्षेत्र लोकप्रिय छन् । “पहिला अन्नपूर्ण बेस क्याम्प हिट थियो, तर सडक निर्माणले आकर्षण घटाएको छ,” उनी थप्छन् । भारतीय पर्यटकहरू तीर्थस्थल रोज्छन् भने चिनियाँहरू लुम्बिनी, चितवन, पोखरातिर आकर्षित हुने गर्छन् । युरोपेली भने संस्कृति र प्रकृति दुवैमा रमाउँछन् । महँगो हवाई टिकट, अधुरो पूर्वाधार र कमजोर सुरक्षा उनीले देखेका मुख्य समस्या हुन् । “नेपाल टुरिजम बोर्डले पर्यटनलाई देशकै रुपमा प्रमोट गरेको मैले देखिनँ, आफ्नो नजिकका कम्पनीलाई मात्र उठाउने गरेको छ ।

thamel (5)ठमेलका स्थानीय व्यापारीहरूको अनुभव पनि उस्तै निराशाजनक छ । ६५ वर्षका वैकुण्ठ पाण्डे, जसले चार दशकभन्दा बढी समयदेखि हस्तकला पसल चलाइरहेका छन्, भन्छन्,
“यो सिजनमा ४५ जना बुकिङ गरेर आएको समूहले आन्दोलनकै कारण गेस्टहाउसमा बुकिङ क्यान्सिल गर्‍यो । ४६ वर्षमै यस्तो स्थिति मैले देखिनँ । सेप्टेम्बर, अक्टोबर, नोभेम्बर हाम्रो पिक सिजन हो, तर अहिले दिनको ५ हजार नाफा हुनुपर्नेमा ४ सय–८ सय मात्र छ । उनका अनुसार, युरोपेली पर्यटक बढी आउने भए पनि अहिले ‘नेपाल असुरक्षित छ’ भन्ने समाचारले आगमन घटेको छ । “नेपाल स्वर्गजस्तो देश हो । हिमाल, संस्कृति, जडीबुटी, सभ्यता—तर राजनीतिज्ञहरूको खेलले यसलाई नर्कझैँ बनाइराखेको छ,” उनी भन्छन् ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार