२८ सेप्टेम्बर २०२५ आइतबार अल्डरसट युकेमा अवस्थित सुसी मोटो रेष्टुरेन्टमा सम्पन्न पाँचथर समाज सेवा युकेको नवौँ महाधिवेशनले नगेन्द्रराज नेम्बाङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
पाँचथरको इम्बुङमा जन्मिएका नेम्बाङ पूर्वगोर्खा हुन् । ब्रिटिस सैनिक सेवाबाट अवकाशपछि उनी ड्राइभिङ इन्स्टिच्यूटका प्रोपाइटर र मनोक्रान्ति टिम यूकेका टिम लिडर छन् । साथै उनी एभरेष्ट टाइम्स युकेको प्रबन्ध निर्देशक हुन् । नरप्रसाद थाम्सुहाङको संयोजकत्वमा सचिव छबी सेलिङ र सदस्य धन काम्बाङ रहेको तीन सदस्यीय निर्वाचन समिति द्वारा घोषित पाँचथर समाज सेवा युकेको नयाँ कार्यसमितिको नामावली वरिष्ठ उपाध्यक्षमा लिला सेलिङ माबो, उपाध्यक्षमा क्रमशः लाहाङ चेम्जोङ, खुशी लिम्बू, गेहेन्द्रराज थाम्सुहाङ, दीपा योङ्या लिम्बू, महासचिवमा पारु राई, सचिव एवं फुटबल कोअर्डिनेटर प्रताप तामाङ, सह सचिव राजन सेलिङ, कोषाध्यक्षमा शिखर लिम्बू, सहकोषाध्यक्ष अर्जुन सेलिङ सर्वसम्मत चयन भएका छन् भने सदस्यहरुमा क्रमशः रस्मी केरुङ योङ्या, राजन राई, देउमान लावती, धन नेम्बाङ, मनकुमार चेम्जोङ, श्री प्रसाद माबो, शुभ नेम्बाङ र कालुसिङ थाम्सुहाङ निर्वाचित भएका छन् ।
नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका अध्यक्ष नरप्रसाद थाम्सुहाङले शोही समय नै पद तथा गोपनीयताको शपथग्रहण गराए । नव निर्वाचित अध्यक्ष नगेन्द्रराज नेम्बाङले समाजले वार्षिक रुपमा गर्दै आएको पाँचथर कपलाई निरन्तरता दिदै पर्मानेन्ट डेड तोक्ने, वार्षिक भेला र च्यारिटी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाए । उनले बेलायतस्थित पाँचथरवासीको समस्या समाधानलाई पहिलो प्राथममिकता दिने भन्दै संस्थालाई नयाँ हिसाबले परिवर्तन गर्ने योजना सुनाए ।
अधिवेशनको पहिलो चरण अध्यक्ष शान्ती लिम्बू र निर्वाचन समिति अध्यक्ष नर थाम्सुहाङले दिप प्रज्वलन गरी नेपाल र बेलायतको राष्ट्रियगीत बजाए लगतै नै कार्यक्रम सफल पार्न आएकी कलाकार निरन्ता नेम्बाङले देशभक्तिले भरिएको गीत गाएर उद्घाटन गरेकी थिइन् ।
अधिवेशनमा वरिष्ठ उपाध्यक्ष गजेन्द्रराज नेम्बाङले स्वागत मन्तब्य राखेका थिए । महासचिव लाहाङ चेम्जोङले संस्थाको कार्यकाल प्रतिवेदन र कोषाध्यक्ष शिखर सम्बाहाङ्फेले पेस गरेको आर्थिक प्रतिवेदन अधिवेसनले सर्वसम्मतिमा पास गरेका थिए । त्यसैगरी विधान संशोधन गरी सदस्यता नवीकरण १० पाउण्डलाई प्रत्येकवर्ष १० पाउण्ड गरी दुई वर्षे कार्यकालमा २० पाउण्ड संकलन गर्ने पारित ७० वर्ष नाघेका सदस्यहरुलाई १ सय पाउण्डमा आजीवन सदस्य बन्न पाउने पारित गरेको थियो । कार्यक्रम सञ्चालन महासचिव लाहाङ चेम्जोङले गरेका थिए ।
अन्त्यमा गायिका निरन्ता नेम्बाङ्गले बिछोडका मिलनका गीतहरु गाएर खुब मनोरञ्जन दिलाएकी थिइन् ।