काठमाडौंमा घाम लाग्यो, जनजीवन सामान्य बन्दै…..

काठमाडौं –     काठमाडौं उपत्यकामा पानी पर्न रोकिएपछि जनजीवन सामान्य बन्दै गएको छ । अहिले बिहान काठमाडौंमा मधुरो घाम लागिरहेको छ । हिजो वर्षा र बाढीका कारण विस्थापित भएकाहरु पनि आ–आफ्नो घरमा फर्किन थालेका छन् । डुबानमा परेका घर, पसलहरु सफा गर्दैछन् । हिजो बागमती नदीको सतह बढ्दा सुकुम्बासी बस्तीतिरका बासिन्दा विस्थापित भएका थिए । बल्खु, कुलेश्वर लगायत क्षेत्रका तरकारी बजारबाट पनि सामान सारिएको थियो । कुलेश्वरको डुबान क्षेत्रमा रातभर डुंगा चलाएर स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो । सुरक्षाकर्मीहरु अहिले पनि उद्धार र सरसफाइमा जुटेका छन् । मौसमविदहरुले अब काठमाडौं उपत्यकामा ठूलो पानी पर्ने सम्भावना नरहेको बताएका छन् । पानी पार्ने प्रणाली कोशी प्रदेशतिर सरेको छ । मौसम खराब हुँदा अवरुद्ध भएको आन्तरिक हवाई उडान सेवा आजबाट सुरु गर्ने तयारी छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकादेखि नै जारी छ ।

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु:

अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो । विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ । पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको भन्ने आएपछि आन्तरिक उडान सुरु गरिएको कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार