काठमाडौं – प्रतिकूल मौसमका कारण सर्वोच्च शिखर सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भागमा सयौं मानिसहरु फसेका छन् । उनीहरुको उद्धारकार्य जारी छ । बाक्लो हिमपातका कारण पदमार्ग अवरुद्ध भएकाले आरोही र तिनका सहयोगीहरु फसेको चिनियाँ समाचार संस्थाहरुले जनाएका छन् । केहीलाई पहिल्यै उद्धार गरिए पनि करिब एक हजार जना अझै फसिरहेको रोयटर्सले उद्धृत गरेको जिमु न्यूजमा उल्लेख छ । समाचारमा लेखिएअनुसार स्थानीय बासिन्दा र उद्धार टोलीका सदस्यहरु करिब ४ हजार ९०० मिटर माथिको क्षेत्रमा उद्धारमा सक्रिय छन् । उनीहरु हिउँ हटाउने र बाटो खुलाउने प्रयासमा छन् । शुक्रबार साँझदेखि सुरु भएको हिमपात शनिबारसम्मै जारी थियो । त्यसपछि तिब्बतको टिङ्ग्री काउन्टी पर्यटन समितिले सगरमाथा अवलोकनका लागि हुँदै आएको टिकट बिक्री बन्द गरिएको जानकारी आफ्नो आधिकारिक वी–च्याट अकाउन्टमार्फत् दिएको थियो । सगरमाथाको नेपालतर्फको भागमा पनि हिउँको ढिस्को खसेर पदमार्ग अवरुद्ध भएको समाचार सार्वजनिक भएको थियो । नाम्चे र जोरसल्ले बीचको मुख्य पदमार्ग पहिरोका कारण क्षतिग्रस्त भएको जानकारी नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) ले दिएको थियो । टानले उक्त खण्डमा यात्रा गर्ने पदयात्रीहरूलाई सावधानी अपनाउन र विकल्पको रुपमा मूल बाटोभन्दा दुई–तीन सय मिटर माथि रहेको खच्चर हिंड्ने बाटो प्रयोग गर्न सूचना प्रवाह गरेको थियो । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले नेपालमा असोज १८ गतेदेखि १९ गतेसम्म अत्यधिक वर्षासँगै बाढीपहिरो आएको थियो । बाढीपहिरोमा परी इलाम जिल्लामा मात्रै ३७ जनाको ज्यान गएको छ ।साभार : अखप