काठमाडौँ – बाढी-पहिरोको कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अझै अवरुद्ध छन् । नेपाल प्रहरीका अनुसार बीपी राजमार्गमा पर्ने काभ्रेपलान्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र डालावेशीमा पहिरोका कारण आवत–जावत अवरुद्ध रहेको छ । त्यस्तै कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् । यता पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् भने रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ । काठमाडौँ उपत्यकाको सवारी आवागमन तथा नाकाहरूको आवागमन पनि सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।साभार : रापा