पोखरा – भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट सत्ता छाडेर नेपाली सेनाको ब्यारेकबाट बाहिर निस्किएका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक प्रदेश र जिल्ला अध्यक्षहरूसँग बैठक गरेका छन् । जेनजी आन्दोलन र त्यसपछाडिको अवस्थाबारे बैठकमा प्रदेश र जिल्लाका अध्यक्ष तथा इन्चार्जहरूले सवाल पठाए भने कतिपयले नेतृत्व हस्तान्तरणको जेनजी आन्दोलनलाईसमेत सम्बोधन गर्नुपर्ने धारणा राखे । प्रदेश र जिल्ला अध्यक्ष तथा दुवै तहका इन्चार्जहरूको भनाइ तथा सुझाव सुनेपछि ओलीले अहिलेकै परिस्थितिमा नेतृत्व नछाड्ने प्रष्ट संकेत गरेका छन् । उनले नेतृत्व पनि नछाड्ने र संसद भंग गरेर बनेको अन्तरिम सरकारकाविरुद्ध अदालत जाने संकेत गरेका हुन् । ओलीले संसद पुनर्स्थापनाको माग गर्नेबारे नेपाली कांग्रेससँग छलफल गर्ने बताएका छन् भने जेनजी आन्दोलनलाई विदेशी हस्ताक्षेप र अन्य शक्तिहरूको चलखेल नै भएको दोहोर्याएका छन् । अध्यक्ष ओलीले अहिले नेतृत्वको प्रश्न उठाउने बेला नभएर पार्टीलाई एकताबद्ध र सशक्त गराउनुपर्ने बेला भएको जिकिर गरेका छन् । उनले पार्टीको नेतृत्वमा रहेर नगर्नुपर्ने काम, पार्टीको विचार र दृष्टिकोणको शिर झुकाउने काम नगरेको बताउँदै नेतृत्व नछाड्ने प्रष्ट रुपमा संकेत गरेका हुन् । उनले सक्दासम्म नेतृत्व र पार्टीको हितमा काम गर्न नछाड्ने संकेत गरेका छन् । ओलीले कुनै पनि हालतमा पार्टीको शिर झुक्न नदिने कुरा दोहोर्याइरहे भने जेनजी आन्दोलनका कतिपय मागमा सहमत भए पनि ठूलो षड्यन्त्र गरेर देशमा विध्वंस मच्चाइएको जिकिर गरिरहे । पार्टीको शिर निहुरन कहिले पनि दिन्नँ, सक्रियताको हिसाबले दिन्नँ, इमानले दिन्नँ, विचारले दिन्नँ । कुनै हिसाबले पनि शिर झुक्न दिन्नँ । अडानको हिसाबले, दृष्टिकोणको हिसाबले कुनै पनि हिसाबले महसुस हुन दिन्नँ,’ एमाले कास्की जिल्ला अध्यक्ष वैनबहादुृर क्षेत्री अधिकारीले सार्वजनिक गरेको छोटो भिडियोमा ओलीले भनेका छन्, ‘जबसम्म म सक्छु, तबसम्म, सक्न छाडेपछि छोड्दिन्छु, । अध्यक्ष ओलीले २४ गतेबाट सचिवालय र २७ गतेबाट केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । त्योभन्दा अघि प्रदेशका इन्चार्ज र अध्यक्ष, जिल्लाका इन्चार्ज र अध्यक्षलाई भर्चुअल बैठक राखेर जेनजी आन्दोलन, त्यसको कारण, सत्ता छाड्नुपर्ने अवस्था र अबको पार्टी नीतिबारे ओलीले बिफ्रिङ गरेका हुन् भने उनीहरूका भनाइ तथा सुझावसमेत सुनेका थिए । बैठकमा ओलीले देशमा अहिलेको परिस्थिति सिर्जना गर्नुमा आफ्नो अलिकति पनि भूमिका नरहेको बताएको र अब पनि तत्काल नेतृत्व छाड्नेबारे नसोचेको बताएको कास्की अध्यक्ष वैनबहादुरले बताए । हामीले अहिलेको परिस्थिति सिर्जना हुनुका कारण, २४ गतेको घटना र त्यसपछिको नेतृत्वका विषयमा कुरा राख्यौं,’ वैनबहादुरले भने, ‘उहाँले जेनजी आन्दोलनको घोषणादेखि २४ गतेसम्मको घटना र त्यसपछि उत्पन्न परिस्थितिका बारेमा कुरा राख्नुभयो । यो बेला पार्टी अझै सशक्त र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । जिल्ला अध्यक्षहरूले जेनजीको मागअनुसार पार्टीले केही न केही नयाँपन दिएर नयाँ अनुहारका साथ आगामी चुनावमा जानुपर्ने नत्र तल्लो तहमा बसेर काम गर्न समस्या पर्ने अहिलेको अवस्थाबारे बिफ्रिङ गरिएको स्याङ्जाका अध्यक्ष गैरेले बताए । तर, ओलीले अहिलेको परिस्थितिअनुसार नेतृत्व नछाड्ने संकेत गरेको उनको भनाइ थियो । ‘हामीले तल्लो तहको आवाज, पार्टी रुपान्तरण र अब कसरी जाने भन्ने विषयमा धारणा राखेका थियौं,’ उनले भने, ‘देश र पार्टीको हितमा सक्दासम्म नेतृत्व गर्ने उहाँको भनाइ थियो । पार्टी नेतृत्वको सन्दर्भमा पार्टीको विधि पद्धतिअनुसार हुने अध्यक्षज्यूले बताउनुभयो । विधान महाधिवेशन भएको ६ महिनाभित्र पार्टी महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार फागुनभित्र गर्नुपर्ने भएकाले यसबारे अहिले चिन्ता गर्नुनपर्ने ओलीको भनाइ छ । तर, केही जिल्ला अध्यक्षहरूले भने वर्तमान परिस्थिति र जेनजी पुस्ताको मागअनुसार पार्टीलाई रुपान्तरण र नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राखेका थिए । कतिपयले पार्टी अध्यक्षहरूले महाधिवेशनलाई अगाडि सार्नुपर्नेसमेत धारणा राखेका थिए ।साभार : अखप












