काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै घटना र श्रृङ्खलाबद्ध घुस लेनदेनको घटनामा केही निश्चित व्यक्तिहरूलाई मात्रै भ्रष्टाचार मुद्दा चलाएको छ । पोखराको लिचीबारी जग्गासँग सम्बन्धित घुस लेनदेन प्रकरणमा उस्तै आरोप लागेका र प्रमाण भएका केही व्यक्तिविरुद्ध मुद्दा चल्दा केहीलाई भने पछि अनुसन्धान गर्ने भनी अख्तियारले छाडेको हो । पोखराको लिचीबारी जग्गाको दर्ता प्रक्रिया मिलाउन अनुकूलको कर्मचारी सरुवा गर्ने प्रयासमा घुस लेनदेन गरेको आरोपमा केपी ओली सरकारका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदाका भूमी व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठलाई अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । पूर्वमन्त्रीमाथि अरू भ्रष्टाचार मुद्दा चले पनि घुस लिएको आरोपमा मुद्दा चलेको यो दुर्लभ घटना हो । यसअघि सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोडको घुस अडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए । अख्तियारका अहिलेका पदाधिकारीहरूले अनुसन्धान नै अघि नबढाई बास्कोटालाई उन्मुक्ति दिएका थिए ।
मन्त्रीदेखि सचिवसम्म अब फेरि छानबिन:
लिचीबारी घुस प्रकरणमा मुछिएका अर्का मन्त्री बलराम अधिकारी, तत्कालीन सचिव अर्जुनकुमार पोखरेल र पोखराका प्रमुख मालपोत अधिकृत चिरञ्जीवी पौडेलमाथि अहिलेलाई मुद्दा चलाएको छैन । तर अख्तियारले फरक प्रकृतिको, फरक समयमा भएको वारदात भन्दै उनीहरू जोडिएको भ्रष्टाचारको आरोपमाथि छुट्टै अनुसन्धान हुने जनाएको छ । अख्तियारले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीमाथि ३२ लाख रुपैयाँ घुस खाएको आरोपमा छुट्टै अनुसन्धान सुरु भएको जनाएको छ । उनीसँग सम्बन्धित अडियोमा सुजन लामाले उनलाई ३२ लाख घुस दिएको आरोप छ । पोखराको एउटा अडियोमा मालपोत कार्यालय कास्कीका नासु दिपक सुवेदीले ७० लाख रुपैयाँ खर्च गरेर चिरञ्जीवी पौडेललाई मालपोत कार्यालय कास्कीमा लगेको भन्ने उल्लेख छ । त्यो रकम मन्त्री बलराम अधिकारीले घुसको रूपमा लिएको भनी उजुरी परेको थियो । तत्कालीन मन्त्री रञ्जिता श्रेष्ठले थप ११ लाख रुपैयाँ घुस लिएको विवरणहरू भेटिएको छ । उनका अंगरक्षक रोशन लोहनीले ११ लाख रुपैयाँ घुस रकम लिएको र उनको खातामा जम्मा गरिदिएको भेटिएको थियो । त्यतिबेला उनी नेपालबाहिर थिइन् । प्रमुख मालपोत अधिकृत पौडेलमाथि घुसको रूपमा चार पटक प्लेन टिकट लिएको र त्यो रकम सुजन लामाले तिरिदिएको विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको हो । उनलाई आर.एन. शर्मा, प्रकाश दाहाल लगायतले ७० लाख तिरेको भनेर बयानमै उल्लेख छ । र, डिल बनेको ठाउँ मालपोत कार्यालय, कास्कीको निवास हो भनी लामाले बयान नै गरेका छन् । तत्कालीन सचिव अर्जुनकुमार पोखरेलमाथि ५ लाख घुस, १० हजारको सामान, रक्सी र दुई वटा वन कुखुरा घुस खाएको आरोप छ । त्यसमाथि पनि अनुसन्धान भइरहेको छ । कास्कीका नासु दीपक सुवेदीले पोखरेललाई घरमै गएर ५ लाख बुझाएको कुरा विवरण आरोपपत्रमा उल्लेख छ । अख्तियारले विशेष अदालतमा पेस गरेको आरोपपत्रमा तत्कालीन मन्त्रीहरू राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठलाई मुद्दाका साथ पेस गरिएको भनी लेखेको छ । तर उनीहरू फरार भएको भनी मुद्दा दायर भएको थियो । मुद्दाका साथ उनीहरू पेस भएको भए बयान र थुनछेक बहसपछि आदेश नहुँदासम्म उनीहरू थुनामा बस्नुपर्ने हुन्थ्यो ।साभार : अखप












