काठमाडौं – विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले १५ कात्तिकपछि घोषणा गरेको आन्दोलन र त्यससँग सम्बन्धित सुरक्षा चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरूले सरकारलाई ब्रिफिङ गरेका छन् । शनिबार बिहान चार वटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) का प्रमुखहरूसँग प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालले छलफल गरेका थिए । करिब दुई घण्टासम्म चलेको उक्त छलफलमा सुरक्षा निकायका प्रमुखहरूले अहिलेसम्म संकलन गरेका विवरण र वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण सुनाएका थिए । सोही क्रममा प्रसाईं समूहले घोषणा गरेको आन्दोलन र सम्भावित चुनौतीबारे लामै छलफल भएको उच्च स्रोतले अनलाइनखबरलाई बताएको छ । स्रोतका अनुसार यसअघि पनि गत १५ चैतमा तीनकुनेमा भएको घटनाको उदाहरण दिँदै प्रसाईं समूहबाट फेरि पनि यस्ता गतिविधि हुन सक्नेतर्फ सचेत हुनुपर्ने सुरक्षा प्रमुखहरूको भनाइ थियो । प्रसाईं समूहले विशेषगरी भाडामा मान्छे जम्मा पारेर ठूलो भिड जम्मा पार्नसक्ने देखिन्छ । गम्भीर समस्या पनि सिर्जना नहोला भन्न सकिँदैन,’ बालुवाटार बैठकमा एक सुरक्षा प्रमुखले भनेका छन्, ‘यो समूहको विशेष निगरानी आवश्यक छ । प्रसाईं समूहको आन्दोलन व्यवस्थाकै विरुद्धमा भएकाले पनि घुसपैठ हुनसक्ने र अवस्था तनावपूर्ण बन्नसक्ने विश्लेषण बैठकमा सुरक्षा प्रमुखहरूले गरेका छन् । सोही विश्लेषण सुनेका गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकलगत्तै हिंसात्मक आन्दोलन नगर्न र संवादबाटै अघि बढ्न अपिल समेत गरेका थिए । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक समेत रहेका प्रसाईंकै अगुवाइमा चैत १५ गते तीनकुनेमा प्रदर्शन बनेको थियो । उक्त प्रदर्शन हिंसात्मक बन्न पुग्दा ठूलो क्षति ब्यहोर्न परेको थियो । पुन: सोही एजेन्डा लिएर अघि बढेका प्रसाईं समूहबाट यस्ता गतिविधि दोहोरिनसक्ने संकेत देखिएको र केही सूचना समेत पाएको ब्रिफिङ बैठकमा भएको थियो ।
प्रसाईंमाथि निगरानी:
सुरक्षा निकायले प्रसाईंका गतिविधिमाथि थप निगरानी बढाएको छ । विशेषगरी उनका गतिविधि, अभिव्यक्तिमाथि सुरक्षा निकायले निगरानी बढाएको हो । प्रसाईंले सञ्जालमाफर्त विभिन्न व्यक्तिमाथि लगाएका आरोप, विभिन्न सञ्चारकर्मी भेला पारेर दिइरहेका अभिव्यक्ति लगायतमा सुक्ष्म निगरानी राखिएको छ,’ स्रोत भन्छ । आन्दोलन एक दुई दिन पनि लम्बिन नदिनेगरी सुरक्षा रणनीति तय गरिएको छ । ठूलो मात्रामा जनशक्ति तयारी अवस्थामा छ,’ उच्च स्रोतले भन्यो, ‘आन्दोलन एक दुई दिन पनि बढी लम्बिन दिने सोचेका छैनौं ।साभार : अखप












