काठमाडौं – नेपालको वाम राजनीतिमा मौसम अनुसार एकता र फुटको लहर चल्छ । जुन लहर अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीमा भित्रिएको छ । ८ घटकको एकता भनिएपनि मूलत: यो दुई मुख्य पार्टीको मिलन हो । यी दुवै पार्टीमा एकता सहमति सँगसँगै विग्रह निम्तिएको छ । माओवादी पार्टीमा उपमहासचिव जनार्दन शर्माले माधव नेपालसँगको एकता प्रक्रियामा विमति राखेर पार्टी नै नयाँ पुनर्गठन गर्ने घोषणा गरेका छन् । यता एकीकृत समाजवादीमा माओवादीसँग एकताको विपक्षमा उभिएका झलनाथ खनाल, घनश्याम भूसाल लगायतका नेताहरूले पार्टी पुनर्गठनका लागि भेला नै गर्न थालिसकेका छन् । समाजवादीमा रामकुमारी झाँक्री लगायतको एउटा समूह एमालेमा फर्किने तयारी गरिरहेको छ । पार्टी मिलाउने यो योजनाका मुख्य कालिगढ माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीमा अध्यक्ष माधव कुमार नेपाल हुन् । वाम एकताको आवरणमा आ-आफ्ना पार्टीभित्र विग्रह निम्त्याएर भए पनि पार्टी एकीकरणको निर्णयमा प्रचण्ड र नेपाल किन पुगे ? इतिहासमा कुनै समय कटुतापूर्ण सम्बन्ध रहेका प्रचण्ड र नेपाल अहिले एकीकृत पार्टी बनाएर जान खोज्नुमा वर्तमानका केही समान बाध्यता छन् । जुन बाध्यतालाई मिलाएर उनीहरूले अहिले एकीकृत शक्ति आर्जन गर्ने अवसर छोप्न चाहेका छन् । दुवै नेताहरु पार्टी भित्र र बाहिर दुवै दबाबमा थिए । पार्टीमा समस्या नेतृत्वमा प्रश्न उठेका बेला उनीहरूले चुनाव मार्फत शक्ति आर्जन गर्न सकिन्छ कि भन्ने सोचेको देखिन्छ’ विष्लेषक झलक सुवेदीको बुझाइ छ ।
अस्तित्व रक्षाको प्रश्न:
माओवादी र एकीकृत समाजवादी दुवै पार्टीभित्र अब अस्तित्व रक्षा कसरी गर्ने भन्ने अवस्था आयो । जेनजी आन्दोलनपछि त झन् पुराना पार्टीहरूको औचित्य सकिएको, नेताहरु प्रयोजनहीन भएको भन्दै व्यापक प्रश्न उठिरहेको छ । जसलाई चिर्दै आगामी चुनावबाट कसरी अस्तित्व रक्षा गर्ने भन्ने संक्रमणमा दुवै पार्टी थिए । किनकी गत चुनावमा मोर्चाबन्दीबाट चुनाव लड्दा माओवादीले ३२ र एकीकृत समाजवादीले १० सिट ल्याएका थिए । समानुपातिकतर्फ माओवादीले करिब १३ लाख मत ल्याएको थियो । एकीकृत समाजवादीले त ३ प्रतिशत थ्रेसहोल्ड हटाउन नसक्दा राष्ट्रिय पार्टी नै हुन सकेको थिएन ।साभार : अखप












