काठमाडौं – प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पनि पुनर्स्थापनाको माग राखेर हस्ताक्षर अभियान थालेका छन् । शुरुमा निर्वाचनको पक्षमा उभिएको कांग्रेसभित्र पुनर्स्थापनाको मागसहितको हस्ताक्षर सुरु हुँदा त्यसले एमालेको मागलाई बल पुगेको छ । एमालेले चुनाव अस्वीकार गर्दै पुनर्स्थापनाको माग अघि सारेर अब सडक संघर्षमा समेत उत्रिने तयारी गरिरहेको छ । यता सरकारले चुनावी काम तीव्र रुपमा अघि बढाइरहेको छ । यही बेला कांग्रेसका निवर्तमान सांसदहरू पनि त्यो मुद्दा लिएर हिँड्न लागेका हुन् । विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेकै अग्रसरता र पहलकदमीमा हस्ताक्षर अभियान सुरू भएको हो । घिमिरेका अनुसार प्रतिनिधि सभा पुनर्स्थापनाको माग राखेर सर्वोच्च अदालत जाने प्रयोजनकै निम्ति हस्ताक्षर अभियान थालिएको हो । सिग्नेचर हामीले पार्टीमा बुझाउँछौं,’ घिमिरेले भने, ‘यो निर्णय चाहिँ पार्टीले नै एक भएर गरोस् भन्ने हाम्रो आग्रह हो । विघटित प्रतिनिधि सभामा कांग्रेस सबैभन्दा ठूलो शक्ति हो । ८८ सिट रहेको कांग्रेसले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाबारे कुनै संस्थागत निर्णय गरेको छैन । संस्थागत निर्णय बिनै कांग्रेसका निवर्तमान सांसदहरूको हस्ताक्षर अभियान थालिएको छ । निवर्तमान प्रमुख सचेतक घिमिरे पनि प्रतिनिधि सभा पुनर्स्थापनाबारे पार्टीको संस्थागत निर्णय नभएको बताउँछन् । नेपाली कांग्रेसले संसद् पुनर्स्थापना गर्ने वा निर्वाचनमा जाने भन्नेबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन । कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारको गठन र यो विघटन चाहिँ असंवैधानिक र अलोकतान्त्रिक भनेको छ,’ उनी भन्छन् । विघटन असंवैधानिक भन्ने निष्कर्ष निकालिएको हुँदा प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्नु स्वाभाविक हुने उनको तर्क छ । त्यसकारण असंवैधानिक र अलोकतान्त्रिक हो भने यसका विरुद्धमा न्यायालयको ढोका ढकढक्याउन पार्टी किन नजाने भनेर हस्ताक्षर अभियान सुरुवात गरिएको हो ।साभार : अखप












