काठमाडौ – चार वर्षअघि पार्टी फुटाउन माधवकुमार नेपालको हात समातेकी नेतृ रामकुमारी झांक्री नेकपा एमालेमा फर्किएकी छन् । झांक्रीसहितका नेताहरूलाई स्वागत गर्न एमालेले राष्ट्रिय सभा गृहमा आज भव्य सभा नै गरेको थियो । अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलसहितका नेताहरू कार्यक्रममा सहभागी थिए । राष्ट्रिय युवा संघ र अनेरास्ववियुका कार्यकर्ताले नाराजुलुस सहित एमाले फर्कनेहरूलाई स्वागत गरेका थिए । यस्तो दृष्य देखेर आफूले ‘हेजिटेड’ अनुभूति गरेको झांक्रीले बताइन् । तर, सभाको मुख्य आकर्षण उनै झांक्री थिइन् । उनले मन्तव्य दिइरहँदा हलमा एकप्रकारको उत्साह देखिन्थ्यो, लगातारजसो ताली बजेको थियो । आफूसहितका नेताहरूलाई हलभित्र स्वागतमा जस्तो ताली बजिरहेको थियो, सामाजिक सञ्जालमा उस्तै ट्रोल बनिरहेको तथ्य स्वयं झांक्रीले लुकाएकी थिइनन् । तपाईं साथीहरूका सयौं क्यामेराहरू मतिर फर्किरहँदा मलाई थाहा छ, तपाईं विगत र आजलाई हेरेर ट्रोल गर्नु हुन्छ होला, तर मलाई स्वीकार्य छ,’ उनले भनिन्, ‘यो वास्तविकता हो, वास्तविकताबाट हामी टाढा भाग्न सक्दैनौ । सम्भवत: आजको कार्यक्रममा तुलनात्मक रुपमा धेरै क्यामेरा देखेपछि झांक्रीले यस्तो अभिव्यक्ति दिएको पनि हुन सक्छ । तर सामाजिक सञ्जालमा देखिने प्रतिक्रिया, आमसाधरणको टिप्पणी र नेताहरूकै अभिव्यक्तिलाई आधार मान्दा पनि झाक्रीको निष्कर्ष सही नै देखिन्छ । एकातिर भव्य ताली र अर्कातिर उस्तै तहको गाली रामकुमारीको लगभग परिचय नै बनिसकेको छ । त्यसैले जो–कोही नागरिकले मन परेको राजनीतिक पार्टी छनोट गर्नसक्ने अधिकार प्रयोग गर्दा समेत झाक्री आफैले ट्रोल हुनुपर्छ भन्ने तथ्य स्वीकार्नु पर्यो । उनको निकट विगत नै त्यस्तो छ । तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुग्दा झाक्रीले तत्कालीन प्रधानमन्त्री रहेका एमाले अध्यक्ष ओलीविरुद्ध चर्को अभिव्यक्ति दिएकी थिइन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबारे झांक्रीले दिएको अभिव्यक्तिका कारण उनलाई गिरफ्तार नै गरियो । हुन त नेकपाको त्यो मतभेदमा पार्टीका हरेक सदस्यले आफ्नो निर्णय लिनुपर्ने परिस्थिति थियो । तर अरु नेता र रामकुमारीको पृष्ठभूमि एउटै थिएन । राजतन्त्र अन्त्य गर्ने २०६२/०६३ सालको आन्दोलनमा ‘आइकन’ बनेका सीमित युवाहरूमा एक थिइन्, झाक्री । त्यसैले उनको अभिव्यक्तिलाई विशेष चासोका साथ हेरियो । अनेरास्ववियुको पूर्वअध्यक्ष भएकीले पनि उनको अभिव्यक्तिको तरंग बढी थियो । त्यसबेला ओली र एमाले कित्ता रोज्नेहरूले झाक्रीलाई लगभग घृणायुक्त आक्रोश पोख्थे । तर, प्रचण्ड र माधव नेपाल पक्ष रोज्नेहरूले झाक्रीलाई स–सम्मानको ताली बजाउँथे । एमाले छोडेर एकीकृत समाजवादी बनाउने सन्दर्भमा ताली बजाउनेहरूबाट अहिले झांक्रीमाथि गालीको वर्षा छ ।साभार : अखप












