आवरणमा पार्टी अध्यक्ष, भित्र अर्कै नेता…..

काठमाडौं –      आगामी २१ फागुनमा तोकिएको चुनावमा भाग लिने प्रयोजनका निम्ति दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिएको छ । आयोगले तोकेको समयभित्र ३५ वटा दलले दर्ता निवेदन दिएका छन् । यसमध्ये ७ वटाले दल दर्ताको प्रमाणपत्र नै लिइसकेका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, अरू २८ वटा दल दर्ताको प्रक्रियामा छन् । खासगरी कानुन बमोजिम कागजात मगाउने र सनाखत गराउने काम भइरहेको छ । सनाखत सम्पन्न र कागजात प्राप्त भएपछि आयोगबाट निर्णय हुनेछ,’ उनले भने । जेनजी विद्रोहको माग अनुसार हुन लागेको मध्यावधि चुनावमा स्वयं जेनजीहरूको अलग्गै दल भने दर्ता भएन । आन्दोलनको अगुवाइ गर्ने जेनजीहरूले दर्ता भएकै दलहरूबाट कुनैलाई समर्थन जनाउने बताइरहेका छन् । तर आयोगले चुनावी प्रयोजनका निम्ति दल दर्ता गर्न दिएको समयमा यसअघि नै समाजमा स्थापित भइसकेकाहरूले भूमिका बदल्दै नयाँ दल दर्ता गराएका छन् । त्यसमध्ये एउटा यस्तो प्रवृत्ति देखिएको छ, जसले आफ्ना प्रतिनिधिका नाममा दल दर्ता गराए । त्यस्तो शैली अपनाउनेमा कुलमान घिसिङ, जनार्दन शर्मा, घनश्याम भूसाल, रेशम चौधरी र दुर्गा प्रसाईं छन् । उनीहरूले आफ्ना प्रतिनिधिलाई औपचारिक प्रक्रियाका लागि अगाडि बढाएर दल दर्ता गराएका छन् । नेपालको संसदीय राजनीतिमा यस्तो शैली नयाँ भने होइन । पञ्चायतकै बेला पनि भूमिगत कम्युनिष्ट पार्टीहरूले जनपक्षीय उम्मेदवार भनेर निर्दलीय चुनावमा भाग लिन्थे । विशेषगरी तत्कालीन मालेको समर्थनमा देशभर जनपक्षीय उम्मेदवार उठ्ने गरेका थिए भने र कतिपय उम्मेदवारले जिते पनि । २०४६ सालको परिवर्तन पछि माओवादी धारले यस्तो अभ्यास गर्‍यो । २०४८ सालमा चुनावी प्रयोजनकै निम्ति जनमोर्चाबाट उम्मेदवारी दिइएको थियो । यसरी उम्मेदवार दिँदा पनि ९ सिट जितेर संसद्को तेस्रो शक्ति बन्यो । २०५१ सालको चुनावमा भने भाग नलिइ सशस्त्र विद्रोहमा माओवादी होमियो । आगामी २१ फागुनमा तोकिएको चुनावी प्रयोजनका निम्ति पनि देखाउने नेता एउटा, र वास्तविक नेतृत्व अर्कैले गर्ने अभ्यास हुने देखिएको छ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार