प्रचण्डको ‘यू टर्न’ले दुबिधामा माओवादी कार्यकर्ता…..

काठमाडौँ –     माओवादी जनयुद्धका मूल नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको मार्गदर्शक सिद्धान्त माओवाद त्यागेर नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरे । कात्तिक १६ गते पेरिसडाँडामा माओवादी, एकीकृत समाजवादीलगायत ८ दलबिच पार्टी एकता सहमतिमा हस्ताक्षर भएको थियो । कात्तिक १९ गते भृकुटीमण्डपमा संयुक्त राष्ट्रिय भेला गरी नेपाली कम्युनिस्ट पार्टी घोषणा भयो । खासमा १२ वटा वामपन्थी घटकसँग एकता भनिए पनि माओवादी र एकीकृत समाजवादीसँग एकता भएको थियो । तर पार्टी एकताले साबिक माओवादी र एकीकृत समाजवादी एकढिक्का रहन सकेन । माओवादीबाट जनार्दन शर्माले विद्रोह गरी प्रगतिशील राष्ट्रिय अभियान चलाएका छन् । एकीकृत समाजवादीबाट विद्रोह गरेका महासचिव घनश्याम भुसाल पार्टी पुनर्गठन अभियानमा छन् । नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठन माग राखेर शर्माले दुई वर्षदेखि अन्तरसंघर्ष चलाउँदै आएका थिए । एकताप्रति असन्तुष्टि जनाउँदै उनले माओवादी पार्टी छाडेर माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन् । पार्टी एकताकै दिन पत्रकार सम्मेलनमा शर्माले भनेका थिए, ‘अध्यक्ष प्रचण्डले माओवादी पार्टी छाडेर माधव नेपालजीको नीतिमा आत्मसमर्पण गर्नुभयो । हामीले त्यो कुरालाई स्वीकार गरेनौँ । नयाँ ढंगले पुनर्गठनसहित प्रगतिशील अभियान सञ्चालन गर्ने अठोट गरेका छौँ । तत्कालीन माओवादीको कार्यालय पेरिसडाँडामा कात्तिक १५ गते बसेको सचिवालय बैठकमा शर्माले एकीकृत समाजवादीसँगको एकता पार्टीका लागि घातक हुने निष्कर्ष निकाल्दै निर्णयमा पुनर्विचार गर्न लिखित प्रस्ताव पेस गरेका थिए । यद्यपि शर्माको प्रस्ताव अल्पमतमा परेकाले अनुमोदन भएन ।

प्रचण्डले माओवाद छाडेका हुन् ?

सुदूरपश्चिमका पूर्वमाओवादी नेता खगराज भट्टले प्रचण्डले माओवाद पहिल्यै त्यागिसकेको जिकिर गरे । २०७५ सालमा एमालेसँग एकता गर्ने बेलामै माओवाद त्यागिसकेकाले अहिले त्याग्यो भन्नुको औचित्य नभएको उनको तर्क छ । खासमा सिद्धान्त र व्यवहार माओवादीअनुरुप भयो कि भएन त्यसमा गम्भीर समीक्षा गर्नुपर्ने भट्टको भनाइ छ । जीवन व्यवहारमा पहिल्यै नै माओवाद त्यागिसकेको हो । २०७५ सालमा पनि त्यागेकै हो । अहिले त्यागेर केही फरक पर्दैन । मुख्य कुरा कम्युनिस्ट सिद्धान्त अनुसार आचरण र व्यवहार भयो कि भएन त्यसमा गम्भीर समीक्षा आवश्यक छ । संसारभर सिद्धान्त एउटा तथा आचरण अर्को देखाएकै कारण कम्युनिस्ट आन्दोलन पतन हुने गरेको तर्क गरे । भट्टको विचारमा मार्क्सवाद मात्र राखेर गए पनि कुनै समस्या हुने छैन । मूल हाँगा समातिसकेपछि सहायक हाँगाबिँगा समात्न आवश्यक छैन । चीनमा माओले मार्क्सवादलाई जीवन र व्यवहारमा लागु गरेको क्रान्ति सफल भयो । सिद्धान्त एउटा व्यवहार अर्को भयो भने सय वटा वाद झुन्ड्याए पनि केही अर्थ हुँदैन । तर नवगठित नेकपा (नेपाली कम्युनिस्ट पार्टी) का संयोजक रहेका प्रचण्डले माओवाद त्यागे भन्ने अर्थमा विश्लेषण गर्न नहुने प्राध्यापक कृष्ण पोखरेल बताउँछन् । यो नयाँ होइन । २०७५ सालमा पनि यस्तो भएको थियो । अहिले पनि त्यही भएको हो । माओवादीमा आएर कुनै पार्टी विलय भएको होइन । पार्टी एकतामा लेनदेन हुन्छ नै । दस्तावेजमा माओवाद नभएपनि इतिहास रहिरहन्छ,’ उनले भने, ‘प्रचण्डलाई माओवादबाट अलग्याएर हेर्न सकिँदैन । एकता गर्दा उनले माओवादी हटाए होलान् । एकीकृत समाजवादीले पनि केही लचिलो भएर नै एकता भएको हो । निर्वाचन आयोगमा दर्ता भएका पाँच दलबिच एकता भएपछि नेकपा(माओवादी केन्द्र) खारेज भएको छ । यद्यपि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० को उपदफा ७ बमोजिम दल एकीकृत भएको वा गाभिएकोमा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झण्डा वा चिह्न गाभिएको मितिले एक वर्षसम्म कसैले प्रयोग गर्न नपाउने उल्लेख छ ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार