काठमाडौं – ज्यान मार्ने उद्योग र अपहरणसहित सात वटा मुद्दा खेपेका पुष्पराज श्रेष्ठलाई कमाण्डर बनाएर नेकपा एमालेले ‘नेशनल युथ भोलिन्टियर फोर्स’ गठन गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले श्रेष्ठलाई झण्डा थमाएर फोर्सको नेतृत्व सुम्पिएका छन् । बबरमहलस्थित एक बान्क्वेटमा पार्टीका नेताहरू प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, शेरधन राई लगायतलाई मञ्चमा राखेरै श्रेष्ठलाई ओलीले नेता घोषणा गरे । यो फोर्स गठन र श्रेष्ठलाई नेतृत्व सुम्पने गृहकार्यका निम्ति ओली स्वयमले निकै मेहनत गरेका थिए । तयारी बैठकहरुमा आफैं बस्दै आएका ओलीले अब जनताको सुरक्षा एमालेले गर्ने र त्यसका निम्ति स्वयं सेवक दस्ता बनाइएको बताउने गरेका थिए । बुधबार, ३ मंसिरमा आयोजित एक कार्यक्रममा पनि ओलीले जनताको जीउधनको रक्षा अब एमालेले गर्ने बताएका थिए । ‘त्यसले (फोर्स) कही पनि शान्ति खल्बल्याउँदैन । आफ्ना पक्षका हुन् कि विपक्षका हुन्, सबैको जीउधनको रक्षा गर्दछ । राष्ट्रिय सम्पत्तिको रक्षा गर्दछ,’ ओलीले भनेका थिए । आज फोर्स घोषणा कार्यक्रमबाट पनि ओलीले पुरानै कुरा दोहोर्याए । उनले भने, ‘यो देशमा शान्ति सुव्यवस्था कायम गर्न बनेको हो । राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था गर्न सक्ने अवस्था रहेन । फोर्स निर्माणको घोषणा भने गत १६ कात्तिकमा गुन्डुबाटै गरिएको थियो । ओलीकै उपस्थितिमा महेश बस्नेतले संयोजन गर्नेगरी त्यसदिन कार्यदल बनेको थियो । कार्यदल सदस्य रहेका अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडाल, फोर्स गठनको मुख्य उद्देश्य शान्ति सुरक्षा नै रहेको बताउँछन् । ‘एमाले भएका कारण असुरक्षित हुनुपर्ने परिस्थिति सिर्जना हुन नदिन यो फोर्स निर्माण गर्न लागिएको हो,’ उनी भन्छन्, ‘फोर्समा खटिने स्वयं सेवकहरुले नेता तथा कार्यकर्ताहरूको सुरक्षाको काम गर्छ । घुसपैठविरुद्ध लड्छ, प्रकोपहरूमा जनतालाई सहयोग गर्छ।’
फोर्स नबन्दै पैसाको उर्दी:
एमाले अध्यक्ष ओली र कार्यदलमा रहेका नेताहरुले शान्ति सूव्यवस्था कायम गर्न फोर्स बनेको दाबी गरेपनि यसबाट पार्टीका नेताहरू भयभीत बनिसकेका छन् । नेताहरुका अनुसार फोर्सको औपचारिक घोषणा हुनुअघि नै आर्थिक संकलनको उर्दीले नेताहरू त्रसित बनिसकेका छन् । स्रोतका अनुसार ओलीको सुरक्षामा खटिएका स्वयम् सेवकहरुका निम्ति भनेर आर्थिक संकलनको उर्दी गरिएको छ । पार्टीका तर्फबाट आर्थिक लाभका पदमा नियुक्त भएकाहरू र पार्टी निकट व्यावसायीलाई आर्थिक संकलनको उर्दी भएको छ,’ स्रोतले भन्यो । उनका अनुसार प्रदेश सभा सदस्यहरुसँग तलब बराबरको आर्थिक सहयोग मागिएको छ । ‘प्रदेश सभाका माननीयहरूसँग एक महिनाको तलब मागिएको छ,’ स्रोत भन्छ, ‘मन्त्रीहरुलाई भने डेढ महिनाको तलब मागिएको छ । जेनजी आन्दोलनबाट प्रतिनिधि सभा विघटन भइरहँदा एमाले प्रदेशहरुमा पनि सत्तारुढ थियो । प्रतिनिधि सभा विघटन भएपनि प्रदेशहरुमा मुख्यमन्त्री र मन्त्री छन् । अहिलेको विषम परिस्थितिमा पार्टीलाई थप सहयोग गर्नुपर्छ भनिएको छ,’ एक नेता भन्छन्, ‘सांसद र मन्त्रीहरुसँग पैसा माग्दा अनेक शीर्षकहरू देखाइएको छ । उनका अनुसार अहिले केपी ओली बसेको घरभाडा नै मासिक चार लाख माथि रहेको, नयाँ घर बनाउने तयारी भइरहेको र सुरक्षामा खटिएकाहरुका निम्ति समेत खर्च चाहिने भएकाले तलब बुझाउन भनिएको छ । केपी ओलीकै निवास र उनको सुरक्षाका निम्ति भनेर पैसा मागिएकाले नेताहरुले बाहिर केही बोल्न नसकेको पनि उनी बताउँछन् । फोर्सका नाममा मागिएको पैसाबारे नेताहरूलाई निकै अप्ठ्यारो परेको देखिन्छ । बोलौं भने अनुशासनको कुरा छ, नबोलौं भने एक महिनाको तलब मागिएको छ,’ बागमती एमालेका अर्का एक नेता भन्छन् । प्रदेश सांसदहरुलाई गरिएको जस्तो उर्दी व्यापारीहरुसँग पनि गरिएको छ । एमाले निकट उद्योग तथा व्यवसायी महासंघमा आवद्ध एक नेताका अनुसार गुन्डुमा भइरहेको खर्चकै निम्ति भनेर व्यापारीहरुसँग चन्दा मागिएको छ। ‘व्यावसायीहरुलाई साढे चार लाखसम्म बुझाउन भनिएको छ।साभार : अखप












