काठमाडौं – बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी जेनजी पुस्ताको ‘रियल लिडर’ भएको बताए । एमाले कहिल्यै जेनजीको मागका विरुद्ध नजाने पौडेलको भनाइ थियो । तर जेनजी उमेर समूहकालाई आसन्न एघारौं महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटीमा पुग्न सहज देखिँदैन । एमाले विधान अनुसार पार्टी सदस्य बन्न कम्तीमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्दछ । सदस्य बनेपछि कम्तीमा १० वर्ष पार्टीमा काम गरेकाले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन पाउँछ । महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदैमा केन्द्रीय कमिटी सदस्यमा उठ्ने योग्यता पुग्दैन । त्यसका लागि कम्तीमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश कमिटी, केन्द्रीय विभागको सदस्य वा जिल्ला कमिटीको पदाधिकारी र जनसंगठनको केन्द्रीय पदाधिकारी भएर एक कार्यकाल काम गरेको हुनुपर्दछ । त्यो भन्दामाथि पोलिटब्यूरो कमिटी, स्थायी कमिटी र केन्द्रीय कमिटीको पदाधिकारी बन्न केन्द्रीय कमिटीमा एक कार्यकाल काम गरिसकेको हुनुपर्दछ । एमाले केन्द्रीय सदस्य हेमराज राई दलको नेतृत्वमा पुग्न जोस–जाँगरसँगै अनुभवको पनि खाँचो पर्ने बताउँछन् । उनी भन्छन्, ‘दर्शन, सिद्धान्त, समाज र पार्टीको इतिहास बुझेकै व्यक्ति नेतृत्वमा देखापर्नुपर्दछ भन्ने कम्युनिस्ट पार्टीको मान्यता हुन्छ । महाधिवेशनमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्न एमालेले प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट हरेक चार मध्ये एक जना ४० वर्षभन्दा कम उमेरका हुनै पर्ने व्यवस्था गरेको छ । तर यस्तो प्रावधान पनि जेनजीलाई नेतृत्वमा पुर्याउन पर्याप्त देखिँदैन । माथिल्लो पदमा एउटै व्यक्ति दोहोरिने र लामो प्रक्रियाबाट गुज्रनु पर्ने प्रावधानले गर्दा नयाँले अवसर पाउन कठिन हुने गरेको एमाले नेता–कार्यकर्ताको गुनासो छ । यसपटक पदाधिकारीमै रहेका सबैले फेरि दोहोरिने वा अहिलेको भन्दा माथिल्लो तहमा उक्लिने कोसिस गरिरहेका छन् । पटक-पटक स्थायी कमिटी,पोलिटब्यूरो र केन्द्रीय कमिटीको सदस्य भएकाहरू नै यसपटक पनि केन्द्रीय कमिटीमै बस्ने कोसिस गरिरहेका छन् दशौं महाधिवेशनपछि बनेको वर्तमान केन्द्रीय पदाधिकारीमा अध्यक्ष लगायत पुरानै अनुहार दोहोरिएका छन् । नवौं महाधिवेशनबाट निर्वाचित १२ मध्ये ९ जना दशौं महाधिवेशनमा पदाधिकारीमै दोहोरिए । नदोहोरिएका पदाधिकारीमध्ये उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल एमालेमा छैनन् भने सचिव भीम आचार्य स्थायी कमिटी सदस्य छन् । २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनबाट माधवकुमार नेपाललाई पराजित गरेर अध्यक्ष बनेका केपी शर्मा ओली चितवन महाधिवेशनबाट अध्यक्षमा दोहोरिए । उनी तेस्रो पटक नेतृत्व लिने तयारी छन् । यसका लागि ७० वर्षे प्रावधान र एउटा पदमा दुई पटक भन्दा बढी बस्न नपाउने प्रावधान विधानबाट हटाइसकिएको छ । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आठौं र नवौं महाधिवेशनबाट महासचिव बनेका थिए । २०३३ सालमा कोअर्डिनेसन केन्द्रको केन्द्रीय कमिटी सदस्य बनेका उनी पछिल्लो पाँच दशकदेखि केन्द्रीय कमिटीका विभिन्न जिम्मेवारीमा छन् ।साभार : अखप












