काठमाडौं – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएपछि मतगणनाको प्रक्रिया सुरु गरिएको छ । बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने र साढे १० बजेभित्र नतिजा सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको छ । एमाले निर्वाचन आयोगका प्रवक्ता भरत पोखरेलले भने, ‘कानुनी प्रक्रियाको पूर्णताका लागि केही समय लाग्यो भने पनि हाम्रो लक्ष्य साढे १० बजेसम्ममा रिजल्ट आउट गर्ने हो । भृकुटीमण्डपमा ८० वटा विद्युतीय मेसिनमार्फत् भोटिङ भएको थियो । २ हजार २६३ प्रतिनिधिहरुमध्ये २ हजार २२७ जनाले मतदान गरेका छन् । यसअनुसार ३६ जना अनुपस्थित भएका छन् । अब मुचुल्का गरी विद्युतीय भोटिङ मेसिनममा रहेका चिप्सलाई शिलबन्दी गरिने छ । त्यसपछि उम्मेदवार र उम्मेदवारका प्रतिनिधिहिरुको रोहबरमा मत गणना गरिने छ । ८० वटा मेसिन लक गर्नुपर्छ । यी ८० वटा मेसिन १० वटा कमाण्डबाट चलेका छन् । एउटा कमाण्डमा ८ वटा मेसिन छन् । ती मेसिनमा एक–एक वटा चिप्स हुन्छ । ती चिप्सहरुमा लाहा छाप लगाएर सुरक्षित राख्ने प्रक्रिया पूरा गर्छौं,’ प्रवक्ता पोखरेलले भने, ‘त्यसपछि उम्मेदवार र उम्मेदवारहरुको प्रतिनिधिहरुको रोहवरमा काउन्टिङको प्रक्रिया सुरु हुन्छ । एमालेले भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम राखेको छ । एमालेको नयाँ नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । प्यानलमा नपरेका केहीले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।साभार : अखप












