एमाले केन्द्रीय कमिटीमा ओलीको एकछत्र…..

काठमाडौं –     पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास हुन नदिएको आरोप खेप्दै आएका केपी शर्मा ओली तेस्रोपटक एमाले अध्यक्ष निर्वाचित भएका छन्, त्यो पनि शानदार मतसहित । बुधबार र बिहीबार (२ र ३ पुस) काठमाडौंमा भएको निर्वाचन प्रक्रियाबाट ओली अध्यक्षमा ह्याट्रिक गर्दै पुनः नेतृत्वमा उदाएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहितको जोडबलमा अध्यक्षको उम्मेदवारी दिएका ईश्वर पोखरेलले ५ सय ६४ मत पाउँदा ओलीले १६६३ प्रतिनिधिको मत जिते । निर्वाचन आयोगका अनुसार, २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित रहे । अर्थात्, २२२७ जना प्रतिनिधि मात्रै मतदानमा सहभागी भए । निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै ओली र पोखरेल दुवै समूहले आ–आफ्ना प्यानलको सूची सार्वजनिक गरेका थिए । दुवै समूहले सार्वजनिक गरेको उक्त प्यानलगत सूची केलाउँदा ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ४९ जना अर्थात् १६‍.६१ प्रतिशत सदस्यहरू दुवैतर्फ भेटिन्छन् । १२ जना अर्थात् ३.९८ प्रतिशत पोखरेल समूहको लिस्टमा मात्रै भेटिए भने २२७ जना जना सदस्यहरू ओली समूहले सार्वजनिक गरेको सूची अनुसार जितेका छन् । यो ७५.०८ प्रतिशत हो । निर्विरोध निर्वाचितको संख्या १३ छ । जसको प्रतिशत ४.३१ हुन आउँछ । हामीले यो तथ्यांक निकाल्नुअघि महाधिवेशनमा ओली र पोखरेल समूहले सार्वजनिक गरेको छुट्टाछुट्टै प्यानलगत सूची र एमालेको निर्वाचन आयोगले निकालेको अन्तिम निर्वाचित केन्द्रीय कमिटीको सूची भिडाएका थियौं । जसमा प्रष्ट ४९ जना केन्द्रीय सदस्यहरूको नाम दुवैतर्फको लिस्टमा भेटिन्छ । १३ जना निर्विरोध निर्वाचित भएका छन् । बाँकी चाहिँ आ-आफ्नो समूहबाट जितेका हुन् । एमालेको यो सूचीले अब एमाले केन्द्रीय कमिटीमा ओलीको एकछत्र बनेको देखिन्छ । १९ सदस्यीय पदाधिकारीमा दुई जना (उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई) ले मात्र जितेका छन् । अब एमालेको स्थायी कमिटी र पोलिटब्यूरो केन्द्रीय कमिटीबाटै बन्ने भएकाले ती सबै निकायमा ओली समूहकै नेताहरूको वर्चस्व रहने प्रष्ट छ । महाधिवेशनको यो परिणामले ओली एमालेभित्र कति शक्तिशाली जरा गाडेर बसेका रहेछन् भन्ने पनि देखाइदिएको छ । जेनजी आन्दोलनपछि एमाले नेतृत्वको औचित्य नरहेको भन्दै प्रश्न उठेपछि नयाँ नेतृत्व चयनका लागि एमालेले निर्धारित समयभन्दा १ वर्ष अगावै ११ औं महाधिवेशन गरेको थियो । संकटमा परेका बेला नेतृत्वलाई सहयोग गरेर जानुपर्छ भन्ने आवाज एकातिर थियो भने पार्टीभित्रको एउटा समूहले भने नेतृत्व बदल्नुपर्छ भन्यो । ओली पुन: महाधिवेशनबाट परीक्षित भएर आउन चाहे । लोकतान्त्रिक विधिबाट परीक्षित भएर ओली फेरि पार्टीको सत्तामा फर्केका छन् । केन्द्रीय कमिटीमा ओलीको समूहको एकछत्र उपस्थितिले अब ओलीका लागि निर्णयहरू गरेर जानका लागि झन् सहज राजमार्ग तयार भएको छ । केन्द्रीय कमिटीको यो कम्बिनेशनले ओलीलाई झन् ठूलो आत्मवल प्रदान गरेको छ । त्यसैले उनले बिहीबार महाधिवेशन समापन समारोहमा अब एमालेलाई `कसैले छोएर हेर त’ भन्ने खालेको भाषा नै प्रयोग गरेर आफ्ना विरोधी शक्तिहरूलाई चेतावनी दिए । एमालेको १० औं महाधिवेशबाट बनेको केन्द्रीय कमिटीमा पनि ओलीको बुहमत थियो । तर ओलीको कार्यशैलीका कारण उनीमाथि प्रश्न उठाउने नेताहरूको संख्या बढेको थियो । विशेषगरी पूर्वराष्ट्रपति भण्डारीको सदस्यता अनुमोदन नगर्ने भनेपछि एमालेमा ओली विरोधी संख्या बढ्दै गएको थियो । तर तल्लो तहबाट छानिएका प्रतिनिधिहरूले फेरि ओलीलाई नै नेतृत्वमा विश्वास गरे । उनलाई अध्यक्ष मात्र बनाएनन् उनको समूहलाई काम गर्न सहज हुने ठानेर उनकै समूहलाई विजयी गराए ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार