काठमाडौं – चार दिन अघि प्रमुख तीन दलको केन्द्रीय मुख्यालय अवलोकन गरेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले आज तीनै दलका मुख्य नेताहरूसँग भेटवार्ता गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्री खरेलले अलग–अलग भेटेका हुन् । तर तीन वटै भेटको उद्देश्य एउटै रहेको उनले बताए । तीन वटै शीर्ष नेताले मसँग के भन्नुभएको छ भने हामी चुनावको विरोधी होइनौ, चुनाव हुनुपर्छ,’ पत्रकारहरूसँग खरेलले भने, ‘चुनाव लोकतन्त्रको पर्याय हो । जनताबाट अनुमोदित हुने कुरा नै उपयुक्त बाटो हो । कांग्रेस, एमाले र नेकपाको धारणालाई मन्त्री खरेलले अलग–अलग नै व्याख्या गरे । ‘नेपाली कांग्रेसका तर्फबाट चुनावको विकल्प छैन, पुनर्स्थापना अहिले हाम्रो मुद्दा होइन, चुनावै हो भनेर सभापतिले भन्नुभएको छ,’ उनले भने, ‘नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट निर्वाचनको त विकल्पै छैन । जाने नै चुनावमा भन्नुभएको छ । तर एमाले अध्यक्ष ओलीले भने सुरक्षाको चिन्ता लिएको मन्त्री खरेलले बताए । सुरक्षाको आवश्यक प्रबन्ध सरकारले गर्ने भएकाले चुनावको बातावरण बनेको निष्कर्ष पनि उनले सुनाए । ‘नेकपा एमालेको अध्यक्षबाट के आएको छ भने चुनावमा जानुपर्छ, तर सुरक्षाको बातावरण बनाउ,’ खरेलले भने, ‘त्यो सरकारले बनाउँछ । देउवा, ओली र प्रचण्डको भेटपछि चुनाव हुनेमा आशावादी मात्र नभएर विश्वास दिलाउने स्थितिमा पुगेको उनले दावी गरे, ‘तीन वटा नेताहरूसँगको भेटघाटबाट आशावादी होइन, विश्वास नै दिलाउँदैछौं कि फागुन २१ गते चुनाव हुन्छ, सबै दलहरुले भाग लिनुहुन्छ । स्रोतका अनुसार मन्त्री खरेलले यो तहको विश्वास सार्वजनिक गर्नुमा गत ८ पुसको शितल निवास छलफल आधार हो । ‘चुनावको बातावरण बनाउनुपर्छ, र त्यसमा सबैले आ–आफ्नो भूमिका निर्वाह गर्ने भन्ने सहमति भएको छ,’ स्रोत भन्छ, ‘त्यही दिनको सहमतिका आधारमा सञ्चारमन्त्रीले निम्तो लिएर नेताहरुलाई आज भेट्नुभएको हो । जेनजी आन्दोलनपछि अन्तरिम सरकारका प्रधानमन्त्री सहित प्रमुख तीन दलका प्रमुखबीच गत ८ पुसमा पहिलोपटक शितल निवासमा छलफल भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्की सहित देउवा, ओली र प्रचण्ड सँगसँगै बस्ने वातावरण मिलाएका थिए । ८ पुसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आयोजित सामूहिक छलफलमा प्रधानमन्त्री सुशीला कार्की, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । आज मैले बोलाएँ, अब प्रधानमन्त्रीले बस्ने व्यवस्था मिलाउनुपर्यो,’ राष्ट्रपति पौडेलको आग्रह थियो । जवाफमा प्रधानमन्त्री कार्कीले पनि चाँडै बालुवाटार बोलाउने प्रतिबद्धता जनाएकी थिइन् । जसअनुसार प्रधानमन्त्री कार्कीले देउवा, ओली र दाहाललाई आजै, (शुक्रबारै) बोलाएकी थिइन् । तर देउवाले पार्टीको बैठक बस्नुपर्ने भनेपछि भोलि, (शनिबार दिउँसो) बस्नेगरी अर्को मिति तय भएको छ । त्यही बैठकको निम्तो लिएर सञ्चारमन्त्री खरेलले नेताहरूलाई भेटेका हुन् ।साभार : अखप












