हारे पनि जिते पनि सदाबहार उम्मेदवार…..

काठमाडौं –    पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८० वर्षको उमेरमा आठौं पटक चुनाव लड्ने घोषणा गरिसकेका छन्। संसदीय अभिलेख अनुसार उनी २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका नेता हुन्। २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनाव जितेका उनी राजनीतिमा पनि निरन्तर नेतृत्वदायी भूमिकामै छन् । प्रजातन्त्र पुनर्बहाली भए लगत्तैको आम चुनाव जितेका देउवा २०४८ सालमा गृहमन्त्री भए। २०५२ मा प्रधानमन्त्री बने। त्यसयता २०५८, २०६१, २०७४ र २०७८ मा समेत गरी पाँच पटक प्रधानमन्त्री भएर मुलुकको नेतृत्व गरिसके। गत २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा उनी घरमै आक्रमणमा परे, घाइते भए। उपचारका लागि सिंगापुर उड्नु अगाडि २८ असोजमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए । त्यसपछि धेरैले देउवाले राजनीतिक जीवनबाट विश्राम लिएको लख काटे। तर, २८ कातिकमा उपचारबाट नेपाल फर्किएपछि उनको राजनीतिक भेटघाट पूर्ववत् अवस्थामै फर्कियो। २३ मंसिरमा देउवाले गृहजिल्ला डडेलधुराका युवा नेताहरूसँग भेटे र भने, ‘अन्तिम पटक चुनाव लड्छु।’ देउवाको चाहना नेताहरूले काट्न सकेनन्। लगत्तै २५ मंसिरमा कांग्रेस डडेलधुरा जिल्ला कार्यसमितिको बैठक बस्यो र प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारमा देउवाको नाम एकल रूपमा सिफारिस गर्‍यो। देउवा आठौं पटक किन चुनाव लड्न चाहन्छन् ? यसबारे उनले चित्तबुझ्‌दो जवाफ दिएका छैनन् । आधा दर्जन भन्दा धेरै पटक उम्मेदवारी दिने देउवा एक्ला नेता भने होइनन्। नेपालको राजनीतिमा लामो समयसम्म नेतृत्व तहमा रहेका अन्य कैयन् नेता छन् जो जित होस् या हार सधैं उम्मेदवार हुन्छन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार