काठमाडौं – जेनजी आन्दोलनले सबै राजनीतिक दलका पुराना पुस्ताका नेताहरूको औचित्यमाथि नै प्रश्न उठाएपछि कांग्रेसका तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले नेतृत्व परिवर्तनको माग गरे । पार्टी सत्तामा हालिमुहाली गरेको शेरबहादुर देउवा समूहले यो माग सुन्नै चाहेन । गगन– विश्वले त्यसपछि पार्टी विधानको विधिलाई समाते । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेको अवस्थामा विशेष महाधिवेशन बोलाउन सक्ने विधानको प्रावधानअनुसार हस्ताक्षर संकलन गरे । वैधानिक रुपमा ५४ प्रतिशतको हस्ताक्षर सहित महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनको माग गरे । जुन मागलाई देउवा पक्षले केन्द्रीय समितिको बहुमतको बलमा निस्तेज पार्ने कोशिस गर्यो । त्यसलाई चिर्दै गगन–विश्वले विधान महाधिवेशन गराए । जुन महाधिवेशनलाई निर्वाचन आयोगले वैधाकनिकता दिएको छ । आयोगले दिएको यो वैधानिकताले कांग्रेसभित्र विधि अनुसार रुपान्तरण खोज्ने गगन– विश्व पार्टीको संस्थापनमा बदलिएका छन् । पार्टी सत्तामा एकलौटी हालीमुहाली गर्दै आएको देउवा समूहको विधिको आफ्नो अनुकूलको व्याख्या आयोगले खारेज गरेको छ । तर अझै पनि देउवा समूहले आफ्नै विधि विपरीतको अडान छोडेको छैन विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई नेपाली कांग्रेसको मान्यता दिने निर्वाचन आयोगको निर्णयप्रति शेरबहादुर देउवा पक्षधरले चर्को आपत्ति जनाएको । गगन थापा सभापति रहेको कांग्रेसलाई मान्यता दिनुअघि कार्यबाहक सभापति रहेका पूर्णबहादुर खड्काले सबै खाले लडाइँ लड्ने प्रारम्भिक प्रतिक्रिया दिएका छन् । हामी वैधानिक–कानुनी लडाईँ सबै लड्छौं । यो निर्णय धेरै समय अघिदेखि नै सेटिङ भएको भनिएको छ,’ पत्रकारहरुसँग खड्काले भनेका छन्, ‘एक पक्षले दाबी गरेको आधारमा गरिएको निर्णय प्रक्रियागत रुपमा त्रुटीपूर्ण छ । षडयन्त्रपूर्ण भएको निर्णय खारेज गर्छौं । अर्का नेता प्रकाशशरण महतले पनि आयोगको निर्णय नमान्ने बताएका छन् । ‘अब हामी छिटै बैठक बसेर कसरी जाने भन्ने निष्कर्ष निकाल्छौं,’ उनले भने । गगनले मान्यता पाए देशभर आन्दोलन चर्काउने खड्काले चेतावनी दिएका थिए । जवाफमा अर्का पक्षहरुले बक्तव्य निकाल्नेदेखि सार्वजनिक अभिव्यक्ति दिने समेत गरेका थिए । आधिकारिकताबारे आज निर्णय हुने जानकारी पाएपछि दुवै पक्षधर पालैपालो आयोग पुगेका थिए ।साभार : अखप












