१२ वर्षअघि दुर्घटनामा बाँचेर साउदी पुगे, फर्केर किनेको गाडीले ज्यान लियो…..

पोखरा –      १२ वर्षअघि तनहुँको दमौली पुल नजिकै मिनीबस दुर्घटना हुँदा गाडी धनी ओमकुमार श्रेष्ठ (मल्ल) गम्भीर घाइते भए । केही दिन पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराएर फर्किएपछि तनहुँको ब्यास नगरपालिका–८ सिर्दीका ओमकुमारलाई लाग्यो, ‘ज्यानै हत्केलामा राखेर हिँड्नुपर्ने यो व्यवसाय छाडिदिन्छु । गाडीको सहचालक, चालक हुँदै ऋणधन गरेर किनेर बस मालिक बनेका थिए, उनी । आफ्नै गाडी दुर्घटनामा परेर मृत्युको मुखबाट फुत्किएको महसुस गर्दै उनले सोचे, ‘भविष्य नै दाउमा राखेर मालिक हुनुभन्दा बरु बजदुर हुनै बेस ।’ गाडी बिक्री गरेर उनी साउदी अरब हानिए । निम्न वर्गीय परिवारमा जन्मिएका ओमकुमार श्रीमती, हुर्कंदै गरेका छोरा–छोरीको खुसीको सपना बुनेर साउदी अरब पुगेका थिए । १२ वर्षअघि ४ वर्ष चालकबाट मालिक भएर गाडी चलाएका ओमकुमारले साउदीमा पनि ८ वर्ष मजदुरी गरे । खाडीमा हन्डर–ठक्कर खाँदै नेपाल फर्किएका ओमले यहीँ अन्य ब्यापार–व्यवसाय गर्न खोजे । तर अनुभव थिएन । करिब डेढ वर्षअघि मात्रै फेरि गाडी किनेर पुरानै पेसामा फर्किने निष्कर्ष निकाले । खाडीमा कमाएको पैसा र ऋणधन गरी साथीसँग मिलेर किने, गाडी नम्बर ग२ख १४२१ । एक जना चालक राखेर आफूले समेत चलाउँदै आफैं गाडीमा आउजाउ गरिरहेका ओमको जीवनमा अर्को भयावह घटना घट्यो । १२ वर्षअघि दुर्घटनामा बाँचेका ओमलाई के थाहा ? फेरि गाडी दुर्घटनामा पर्ला र आफ्नै प्राण चुँडाएर लैजाला । तर भयो त्यस्तै । आइतबार पोखराको पर्यटन बसपार्कबाट छुटेको रात्रि बस राति ११ बजे पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खस्यो र उनीसहित १९ जनाले ज्यान गुमाए । ओमसँगै काठमाडौं हिँडेकी श्रीमतीसहित २५ जना घाइते भए ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार