काठमाडौं- भरतपुर महानगर–२१, चितवनका बसन्त पौडेललाई अनलाइनखबरको टिमले गत साता पार्वतीपुरमा भेट्दा उनी अलमलमा थिए। नेपाली कांग्रेसका समर्थक रहेछन् पौडेल, तर रेणु दाहालले मेयर भएर गरेको कामबाट प्रभावित थिए। दुईपटक मेयर भएर रेणु दाहालले यहाँ राम्रो काम गर्नुभएको छ,’ पौडेलले भने, ‘कांग्रेसको उम्मेदवार पनि राम्रै हो, भोट नहाल्नुपर्ने कारण छैन।’ चितवन–३ का कांग्रेस समर्थकले १२ वर्षपछि बल्ल यसपटक रुख चिह्नमा मत हाल्ने अवसर पाएकाले पनि उनको अलमल अझ बढाएको बुझिन्थ्यो। बाक्लो चहलपहल भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति उनी सकारात्मक देखिएनन्। तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति भने चर्को आक्रोश पोखे। केपी ओलीले आफ्नो पार्टीका बारेमा बोल्दा राम्रो हो, शेरबहादुर देउवाको घरमा भेटिएको पैसा हो कि एआई भनिरहनुपर्दैन,’ पौडेलले भने। जेनजी आन्दोलन हुँदा देउवाको घरमा जलेको पैसा भेटिएकोबारे ओलीले झापामा बोलेका थिए। शेरबहादुरको घरबाट पैसा निस्केको देखायो नि, त्यो अर्कै देशमा कहीँ कतै केही बनाएर, एआई भन्छ आजकल, त्यसले फोटोहरू बनाउँछ र हाल्छ,’ गत २४ माघमा ओलीले भनेका थिए। ओलीको यस्तो अभिव्यक्तिप्रति चितवनमा पौडेलजस्ता थुप्रै मतदाता आक्रोशित भेटिए। जनतालाई हेप्नुको हद हुन्छ नि! शेरबहादुरको घरमा पैसा जलेको हो कि होइन भन्ने हामीले पनि बुझेका छौँ,’ कालिका-१० चितवनकै भेषराज अर्यालले भने। फरक पार्टीमा आस्था राख्नेहरू मात्र होइन, एमालेकै कार्यकर्ता पनि ओलीको बोलीप्रति असन्तुष्ट भेटिए। यद्यपि चुनावका बेला भएकाले औपचारिक प्रतिक्रिया दिन उनीहरूले चाहेनन्। रास्वपाले त ओलीको झुटलाई प्रचारकै विषय बनाएको छ। ‘जलेको पैसा भेटिएकालाई एआई भन्छन्, भ्रष्टाचारीहरूले खुलेआम जनता ठग्न थाले,’ कालिका–५ चितवनका देवी सापकोटाको आक्रोश थियो। गत ६ माघमा उम्मेदवारी दर्ता गराएपछि ओली झापाकेन्द्रित छन्, तर उनी र उनका अभिव्यक्ति देशभर एजेन्डा बनिरहेको बुझाउने यी प्रतिनिधि पात्रहरू हुन्। ‘जेनजीका विरुद्धमा केपी ओली उभिनुभयो, यही कुरा एमालेलाई भारी पर्ने देखियो,’ माडी–३ चितवनका नारायण पोखरेलले भने। माडी नगरपालिकाका एमाले अध्यक्ष नारायण अधिकारी पनि जेनजी आन्दोलनको असर पार्टीमा परेको स्वीकार्छन्। तर बिस्तारै सङ्गठन चलायमान बनाएको र युवा परिचालन बढाएको बताउँछन् उनी। ‘निष्क्रिय भएका युवाहरू फेरि सङ्गठनमा जोड्दै छौँ, बिस्तारै पार्टीको पक्षमा माहोल बन्दै छ,’ अधिकारी भन्छन्।साभार : अखप












