काठमाडौँ – गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र आन्दोलनका कारण क्षतिसम्बन्धी छानबिन गर्न गठित मानवअधिकार आयोगको छानबिन समितिले शुक्रबार आयोगका अध्यक्ष तपबहादुर मगरसमक्ष प्रतिवेदन बुझाएको छ। आयोगको छानबिन प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा प्रमुखहरुले जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको निष्कर्ष निकालिएकाे आयोग स्रोतले जानकारी दियो । यद्यपि प्रतिवेदन भने सार्वजनिक गरिएको छैन। ६ सय पृष्ठ लामो प्रतिवेदनमा भदौ २३ र २४ दुवै दिनको घटनाको सुक्ष्म अध्ययन अनुसन्धान गर्दै राष्ट्रिय सुरक्षा समितिका पदाधिकारीहरुलाई मानव अधिकार उल्लंघन गरेको भन्दै कारबाही सिफारिस गरिएको छ, आयोग स्रोतले भन्यो,’ हामीले गर्न सक्ने भनेको कारबाही सिफारिस हो। आगामी दिनमा सरकार र जिम्मेवार तहमा रहेका अधिकारी सजग हुनुपर्ने कुरा सुझाइएको छ । साथै आयोगको प्रतिवेदनले भदौ २३ को घटनाको सुक्षम रुपमा हेर्न नसकेको र राज्यले जिम्मेवारी पूर्वक नागरिकको सुरक्षा गर्नुपर्नेमा जबर्जस्ती बल प्रयोग गरेको निष्कर्ष निकालेको छ। आन्दोलनका बेला तत्कालीन सुरक्षा परिषद्मा प्रधानमन्त्री केपी ओली परिषद्को अध्यक्ष थिए । तत्कालीन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल तथा प्रधान सेनापति अशोक सिग्देल सदस्य थिए । आयोगले प्रतिवेदनमा ३–४ सय सन्देश, २ हजार भन्दा बढी भिडियो, अडियोलगायत अध्ययन गरेर प्रतिवेदन तयार पारिएकाे स्रोतले जानकारी दियो । आयोगले सो प्रतिवेदन तयार गर्दा जेनजी आन्दोलनमा घाइतेहरुसँग पनि बयान लिएको जनाएको छ । आयोगका अनुसार २३ भदौको घटनामा दमन र मानवअधिकार हननका विषयमा अनुसन्धान केन्द्रित छ भने २४ भदौको घटनामा जवाफदेहीता र दण्डहीनतालगायतका विषयमा अनुसन्धान केन्द्रित रहेर प्रतिवेदन तयार गरेको छ । आयोगले काठमाडौं र विभिन्न जिल्लामा रहेका आफ्नो संयन्त्रमार्फत अध्ययन गरेको थियो । आयोगले जिल्ला सुरक्षा परिषद् हुँदै २३ र २४ भदौमा फिल्डमा खटिएका सुरक्षाकर्मीसम्मलाई सोधपुछ गरेको थियो । आयोगले नेपाली सेनासँग पनि विवरण माग गरेको थियो । आयोगले जेनजी आन्दोलनका क्रममा गरेको अनुगमनको संक्षिप्त प्रतिवेदन १० असोजमा सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनमा घटनापूर्व सम्भावित कारणहरूको आकलन गर्न नसक्नु सरकारको कमजोरी भएको ठहर थियो । प्रदर्शनको पहिलो दिनको पूर्वाह्नमा शान्तिपूर्ण प्रदर्शन भए पनि मध्याह्नपश्चात् आगजनीका घटना र प्रदर्शनकारीमाथि गोली प्रहारबाट केही प्रदर्शनकारीको मृत्यु भएर घटना हिंसामा परिणत भएको देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘पहिलो दिनको प्रदर्शनमा सुरक्षाकर्मीको गोलीबाट प्रदर्शनकारीको मृत्यु भएका कारण दोस्रो दिन अन्धाधुन्ध आगजनी र तोडफोड भएको अनुगमनका क्रममा पाइएको थियो । आयोगले यस प्रकारका हिंसात्मक घटनाकाे कारण पहिचान गर्दै भविष्यमा दोहोरिन नदिने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको थियो । आयोगले जेनजी आन्दोलनकै दिन आयोगका सदस्य डा.लिली थापाको संयोजकत्वमा छानबिन समिति गठन गरेर काम अघि बढाएको थियो । आयोगले भदौ २४ मा प्रेस विज्ञप्ति निकालेर शान्ति सुरक्षाका नाममा व्यक्तिहत्या बन्द गर्न माग गर्दै छानबिन टोली गठन गरेको जानकारी दिएको थियो ।साभार : रापा












