काठमाडौं – गोलकिपर एलोय रुम नायक बन्दै १५ सेभ गरेपछि कुरासाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै फिफा विश्वकपमा पहिलो अंक जोडेको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ डेब्यु गरेको कुरासाओले दोस्रो खेलमा आएर पहिलो अंक जोडेको हो । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको खेलमा इक्वेडरले गोल गर्ने दर्जन बढी अवसर बनाएपनि कुरासाओका गोलकिपर रुमले शानदार बचाउ गरे । अमेरिकाको मेजर लिग सकर (एमएसएल) मा मायमी एफसीबाट खेल्ने ३७ वर्षे रुमले खेल अवधीभर कूल १५ सेभ गरे । फिफा विश्वकपमा एकै खेलमा सर्वाधिक सेभ गर्ने ङ्कीर्तिमान अमेरिकन गोलकिपर टिम हवार्डको नाममा छ । उनले सन् २०१४ को विश्वकपमा बेल्जियम विरुद्ध अन्तिम १६ को खेलमा १६ सेभ गरेका थिए । कुरासाओले पनि गोल गर्ने केही अवसर बनाएको थियो । तर इक्वेडरका हर्नान् गालिन्डेजले पनि केही राम्रा बचाउ गरे । गालिन्डेजले ३ सेभ गरे । समूह ई मा जर्मनी विरुद्ध पहिलो खेलमै विश्वकपमा पहिलो गोल गरेको कुरासाओले दोस्रो खेलमा इक्वेडरलाई स्तब्ध बनाउँदे अंक खोसेको हो । बराबरीपछि दुवैले यस समूहमा १-१ अंक जोडेको छ । इक्वेडर पहिलो खेलमा अन्तिम समयमा गोल खाँदै आइभरी कोस्टसँग १-० ले पराजित भएको थियो भने कुरासाओ विश्वकपको डेब्यु खेलमा चार पटकको विजेता जर्मनीसँग ७-१ ले पराजित भएको थियो । फिफा विश्वकप खेल्ने विश्वकै सबैभन्दा सानो देशको कीर्तिमान बनाएको कुरासाओले यस विश्वकपमा पहिलो गोल गर्ने र पहिलो अंक जोड्ने इतिहास पनि बनाएको छ । कुरासाओले अब समूहको अन्तिम खेल आइभरी कोस्टसँग खेल्नेछ । कुरासाओ र इक्वेडर दुवैको नकआउट पुग्ने सम्भावना भने बाँकी नै छ तर त्यो सम्भावना अब कठिन बनेको छ । नकआउट पुग्ने सम्भावना कायम राख्न दुवैले आ-आफ्नो अन्तिम खेल जित्नुपर्नेछ । अन्तिम खेलमा इव्केडर र कुरासाओ पराजित भए वा बराबरीमा रोकिएमा भने नकआउट चरण पुग्ने सम्भावना समाप्त हुनेछ । आइतबारै बिहान चाँडै भएको खेलमा आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान बनाइसकेको छ । आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ ।साभार : अखप












