माधवको नजिर देखाउँदै ओलीमाथि राजीनामाको ‘नैतिक’ दबाब…..

काठमाडौँ –     नेकपा एमाले पार्टी पुनर्संरचना र पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदनले पार्टी कमजोर बन्नुमा नेतृत्वले जिम्मेवारी लिनुपर्ने सुझाव दिइएको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन मस्यौदामा यस्तो सुझाव दिएको पाइएको हो। स्रोतका अनुसार निर्वाचनमा पार्टीले व्यहोरेको गम्भीर पराजय तथा अहिले भोगिरहेको सङ्कटको नैतिक जिम्मेवारी लिँदै तत्काल अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र राजीनामा नदिए अध्यक्षबाट हटाउन सकिने आधारसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ । निर्वाचनको समग्र समीक्षासहित पार्टी पुनर्गठनका लागि गठित कार्यदलले सुझाव सङ्कलनपछि तयार प्रतिवेदन मस्यौदामा यस्तो आधारबारे खुलाइएको हो । यद्यपि,उक्त मस्यौदालाई प्रतिवेदनका रूपमा अन्तिम रूप दिन भने बाँकी नै रहेको छ । प्रतिवेदनको मस्यौदा महासचिव शंकर पोखरेलले तयार गरेर संयोजक थापालाई बुझाएका थिए । संयोजक थापाले भने उक्त मस्यौदा अध्यक्ष केपी ओलीलाई दिएका छन् । मस्यौदामा पार्टी नेतृत्वले जिम्मेवारी लिनुपर्ने सुझाव समेटेपछि अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष तथा संयोजक थापा उक्त प्रतिवेदनलाई अन्तिम रूप दिन नै आलटाल गरिरहेका छन् । सरकारको काम र क्रियाकलापका कारणले आजको सङ्कट उत्पन्न भएको हुँदा पार्टीको मुख्य नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्छ भन्ने मान्यता सुझावका क्रममा आएको छ’, प्रतिवेदनको एक अंशमा भनिएको छ । तर, निर्वाचनमा भएको हार कुनै एक व्यक्तिको कारणले मात्र नभएको प्रतिवेदनमा उल्लेख छ । यसका लागि तलदेखि माथिसम्म सबैले भूमिकाअनुरूपको जिम्मा लिनुपर्छ भन्ने मत पनि बलियो देखिन्छ’, प्रतिवेदन मस्यौदामा भनिएको छ, ‘चुनौतीको समयमा नेतृत्वको विषयमा बहस गर्नु हुँदैन, सबै एक भएर चुनौतीको सामना गर्नुपर्छ भन्ने मत पनि रहेको छ ।’ प्रतिवेदनमा निर्वाचनमा भएको गम्भीर पराजय पछि विगतमा माधवकुमार नेपालले राजीनामा दिएको घटनालाई उदाहरणका रूपमा समेटिएको छ । हाम्रै पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपालले नैतिकताका आधारमा राजीनामा दिएको र अन्तर्राष्ट्रिय रूपमा पनि गम्भीर चुनावी हारपछि नैतिकताका आधारमा जिम्मेवारी बहन गर्ने गरेको कुरालाई आधार बनाएर नेतृत्वबाट अपेक्षा राखेको देखिन्छ’, प्रतिवेदन मस्यौदामा अध्यक्ष केपी शर्मा ओलीमाथि नैतिकताको प्रश्न उठाइएको छ। नेतृत्वको विषयमा उठेको विषयलाई समष्टिगत रूपमा पार्टीको हितलाई केन्द्रबिन्दुमा राखेर समाधान गरिनु पर्छ। यस सन्दर्भमा वर्तमान पार्टी अध्यक्षका नेतृत्वमा विगतमा भएका राम्रा कामहरूको पुँजीकरणको विषयमा असर नपरोस् भन्ने कुरामा सचेत हुनु आवश्यक देखिन्छ’, प्रतिवेदन मस्यौदामा भनिएको छ ।साभार :रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार