जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ का विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । पहिरोमा परी ३ जना बेपत्ता भएका छन् । पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय केदार कार्की रहेका छन् । पहिरोमा परी गम्भीर घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी बेपत्ता हुनेमा फारुलाकी ५४ वर्षीया उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की सहित अन्य एक जना रहेका छन् । बाढीपहिरोमा परी सात जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने अन्य २ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । बाढीपहिरोका कारण भेरी नगरपालिका–२ को रिसाङ क्षेत्रसँगै वडा नं ३ का स्याँला, माथिल्लो थाप्ले र ठाँटी खण्ड तथा वडा नं १ का पिपे, मैदे, डौरीकाँडा, घुयलनेटा र रावतगाउँका बस्तीहरू उच्च जोखिममा परेका छन्। अविरल वर्षा र प्रतिकूल मौसमका कारण रातिको समयमा प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार गर्न कठिनाइ भएको थियो । आज बिहानैदेखि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, क्षतिको अवस्था पहिचान तथा आवश्यक समन्वयका लागि टोली परिचालन गर्ने तयारी भइरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए ।साभार : अखप












