पहिले झोले, अहिले आवारा…..

काठमाडौँ –     एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व परिवर्तनको माग गर्ने नेता–कार्यकर्ताहरूलाई आवारा भनी टिप्पणी गरेपछि आन्तरिक विवाद चर्किएको छ। पार्टी नेतृत्व पुनर्गठनको बहस चलाइरहेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेताहरूमाथि ओलीको उक्त अभिव्यक्ति लक्षित रहेको छ। यसअघि झोले शब्दलाई गर्वको विषय बनाउँदै अभियान चलाएका नेता–कार्यकर्ताहरू अहिले नेतृत्वको आलोचना गरेकै कारण आवारा र किर्ना को संज्ञा पाएका छन्। गत वर्ष जेठ १५ गते एमालेले काठमाडौंमा गणतन्त्र उत्सव कार्यक्रम आयोजना गरेको थियो । त्यसबेला सरकारको नेतृत्व एमालेले नै गरिरहेको थियो । बिहानबाटै गणतन्त्र दिवसको सरकारी कार्यक्रमले रत्नपार्क क्षेत्रमा ट्राफिक केही डिस्टर्ब थियो । दिउँसो फेरि त्यही स्थानमा एमालेको छुट्टै गणतन्त्र उत्सव मनाउने कार्यक्रमले आवागमन झन् बिथोलियो । एमालेको तामझामले सामाजिक सञ्जाल रंगिइरहेका थिए । जहाँ एमालेलाई नरुचाउनेहरूका अधिकांश कमेन्टहरू थिए- एमालेका झोलेहरू । सत्तामा बसेको पार्टीको कार्यशैलीलाई लिएर चिढिइरहेको जमातले निरन्तर ‘झोले’ भन्दै टिप्पणी गरिरहेको प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई थाहा नहुने कुरै भएन । जेठ १७ गते काठमाडौंको टोखामा भएको एमाले नेपाल बुद्धिजिवी परिषद्को ११औं महाधिवेशनमा ओली प्रमुख अतिथिको रुपमा सहभागी भए । त्यहाँ उनले आफ्नो भाषणको मूल विषयवस्तु नै ‘झोले’ शब्दलाई बनाए । पार्टीको झोले हुनु गर्वको विषय भन्दै उनले लामो व्याख्या गरे । मलाई अलिकति पनि अप्ठेरो लाग्दैन, म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ । जनताको हितहरूको झोला बोक्ने, जनताको हितको झोला बोक्ने, गौरवको झोला बोक्ने,परिवर्तनको झण्डा उठाउने झोले हुँ, के भयो त झोले बन्दा ?,’ उनको प्रश्न थियो । बुद्धिजीवीहरूको कार्यक्रम भएकाले उनले बुद्धिजीवीहरूलाई पनि इंगित गर्दै ‘जे मा पनि खोट देख्ने तथाकथित आलोचनात्मक चेतबाट माथि उठ्न’ भने । ओलीले ‘झोले’ शब्दको यति व्याख्या गर्दै गर्वको कुरा गरेपछि उनका सोसल मिडिया क्याम्पेनरहरूलाई मसला पुगिहाल्यो । उनीहरूले सोसल मिडिया पोस्टर तयार गरे र जेठ १९ गते ‌ओलीको पेजबाट सार्वजनिक भयो- ‘म झोले हो’ अभियान । ओलीकै पेजबाट यस्तो अभियान सुरू भएपछि उनका अनुयायीहरूले त्यस्तै पोस्टरमा आफ्नो फोटो राख्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने ट्रेन्डिङ नै चल्यो । जसको अग्रपंक्तिमा थिए, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, तत्कालीन उपमहासचिव पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमालदेखि युवा विद्यार्थी नेताहरू समिक बडाल, क्षितिज थेबे लगायतका सयौं एमाले नेता कार्यकर्ताहरू । तत्कालीन ओली समूहले झोले हुनुमा गर्व गरेपनि पार्टीको अर्को पंक्तिले यो शैली रुचाएको थिएन । त्यस्तै सामाजिक सञ्जालमा पनि एमालेको प्रशंसा होइन निन्दा झन् बढेको थियो ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार