काठमाडौं – नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ताको कार्यक्रम सुरु हुँदैछ । सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन मंगलबारको बन्द सत्रले पारित गरेपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ्नेछ । मतदाता नामावली प्रकाशन, नामावली उपर दावी–विरोध, दावी–विरोध उपर जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम सोमबार नै सम्पन्न भएको थियो । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ । अपराह्न ४:३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्न ४:३० देखि साँझ ५:३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । त्यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइने छ ।
कुन पदको उम्मेदवारका लागि के चाहिन्छ योग्यता ?
त्यसपछि असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए । मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवनमा हुनेछ । बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ । कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुलामञ्चलाई मतदान स्थल बनाइने भएको छ । खुलामञ्चमा नै भ्रातृ एवम् शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरूले मतदान गर्ने छन् । मतदान सकिएलगत्तै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछैन ।
वरिष्ठ उपसभापति सहित २९७ सदस्यीय केन्द्रीय समिति:
सोमबारको बन्दसत्रबाट पारित संशोधित विधान अनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ । त्यस्तै, महामन्त्री ३ जना रहने छन् । जसमा एक जना महिला अनिवार्य गरिएको छ । त्यस्तै सहमहामन्त्रीमा १५ जना रहने छन् । कोषाध्यक्ष केन्द्रीय सदस्य मध्येबाट एक जना हुनेछन् । प्रवक्ता एक जना हुनेछन् भने सहप्रवक्ता पनि हुनेछन् । केन्द्रीय सदस्यहरूमा खुलामा ४५ जना रहनेछन् । महिला खुलामा १५ जना हुनेछन् । हरेक प्रदेशबाट एक महिलासहित चार जना हुनेछन् । साथै, उपत्यकाबाट एक महिलासहित दुई जना अनिवार्य गरिएको छ । यस्तै, दलिततर्फ पाँच महिला र एक मधेसीसहित १४ जना रहने छन् । जनजातितर्फ ८ महिलासहित २० जना हुनेछन्, भने खस आर्यबार्ट ८ महिलासहित १८ जना हुनेछन् । मधेशीतर्फ पाँच महिलासहित १३ जना हुनेछन् । यस्तै, जनसम्पर्क समितिबाट २ महिलासहित ७ जना हुनेछन् । पिछडिएको बर्गबाट ३ जना हुनेछन् । थारूबाट २ महिलासहित ६ जना रहेका छन् । श्रमिकबाट १ महिलासहित ३ जना, पेशागत विज्ञबाट दुई महिलासहित ७ जना रहेका छन् । साथै, सातै प्रदेशबाट २१ जना ३५ वर्ष मुनिका युवा रहनेछन् । यस्तै, अपाङ्गता भएकाबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना हुनेछन् । केन्द्रीय कार्यसमितिले पछि ६६ जना मनोनीत गर्नेछ ।साभार : अखप












