नुवाकोट – विजया दशमीका दिन देशभरि टीका, जमरा, पिङ र आशीर्वादसहित चाडपर्वको उल्लास छाइरहँदा नुवाकोट र रसुवाका विस्थापित बस्तीमा भने निराशा देखियो । भोटेकोशी बाढीमा परिवार, आफन्त र थातथलो गुमाएका विस्थापितहरूका बस्ती सुनसान रहे । केही शिविरमा बालबालिकाका लागि पिङ हालिएको भए पनि अभिभावकदेखि वृद्धवृद्धासम्म बाढीमा बेपत्ता र मृत्यु भएका परिवारजनको सम्झनामा टोलाइरहेका थिए । उनीहरू पीडा पोख्दै भन्दै थिए, ‘चाडपर्वमा त झन् बितेका आफन्तको यादले सताउँदोरहेछ । नुवाकोटको विदुर नगरपालिका–५ स्थित बाँडाचौतारो, पिपलटारलगायतका विस्थापित बस्तीमा यसपटक दसैंको रौनक छैन । तीन सयभन्दा बढी परिवारले दसैं सम्झिनसमेत चाहेनन् । रसुवाको उत्तरगया गाउँपालिका–१ बाट विस्थापित भएर आएका उनीहरूले बाढीमा परिवारका सदस्य र आफन्त गुमाएका छन् । थातथलो बगरमा परिणत भएपछि नुवाकोटमा आएर कष्टकर जीवन बिताइरहेका उनीहरू चाडपर्वको उमंगभन्दा आफन्तको शोकमा डुबेका छन् । विदुर नगरपालिका–५ का बाँडाचौतारो, रत्तकाली आधारभूत विद्यालय पिपलटार, माझीटार ठूलोगाउँ र पोष्टबहादुर बोगटी पार्क गरी चार स्थानमा करिब दुई हजार विस्थापित डेढ महिनादेखि बस्दै आएका छन् । यसपटक यी बस्तीमा दसैंको उल्लास देखिएन । यसअघिका वर्षमा उल्लासपूर्वक दशैं मनाउने गरे पनि अहिले आफूहरू आफन्त र परिवारजनको शोकमा रहेको उत्तरगया–१ का पूर्ववडाध्यक्ष तथा विस्थापित बमबहादुर तामाङले बताए । ‘यहाँ सबैको कोही न कोही परिवारका सदस्य बाढीमा बितेर गए’, उनले भने, ‘सबथोक गुमाइसकेका हाम्रा लागि चाडपर्वको खुसी नै खोसिएको छ ।साभार : अखप












