भुटानमाथि नेपालको सहज जित, बलिङमा सन्दिपसँगै दीपेन्द्र चम्किए

२८ भदौ, काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले भुटानलाई ९ विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भुटानले ५१ रनको लक्ष्य प्रस्तुत गर्यो, जसलाई नेपालले मात्र ८.३ ओभरमा १ विकेट गुमाएर भेट्टायो । सन्दिप सुनारले २१ रन बनाए । आशिफ शेख २३ र अनिलकुमार साह ४ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको भुटानका ब्याट्सम्यानहरु नेपाली बलरसामू निरिह देखिए । उसका लागि टासी फुन्सोले १६ र उर्गेन दोर्जीले १३ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपाली कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले २३ रन दिएका थिए ।

यस्तै सन्दिप लामिछानेले ४ विकेट हात पारे । निकै किफायती बलिङ गरेका सन्दिपले ७ ओभरमा ३ मेडल राख्दै मात्र ७ रन दिएर ४ विकेट लिएका हुन् ।

बुधबार बिहान मलेसियामा भएको खेलमा नेपालले कप्तान दीपेन्द्रसिंह ऐरीको ५ विकेटको मदतमा भुटानलाई ५० रनमै समेट्दै जित निकालेको हो ।

नेपालले भोलि मलेसियाको क्लव अमानमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार