पोखरा – लमजुङको जनकल्याण बचत तथा ऋण सहकारीको रकम ठगी प्रकरणमा मर्स्याङ्दी गाउँपालिकाको कार्यपालिका सदस्य मधुमाया बगालेलाई जिल्ला अदालत लमजुङले दोषी ठहर गरेको छ । बगालेसहित २ जनालाई दोषी ठहर गर्दै कैद सजाय, जरिबाना र सहकारीको रकम भराउने फैसला गरेको छ भने १ जनालाई कसुरमा मतियार रहेको भन्दै ३ महिना कैद सजाय तोकेको छ । लमजुङ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सहकारी ठगीमा बगालेलाई ४ वर्ष कैद, र पौने २ करोड रुपैयाँ जरिबाना तोकेको हो । यसैगरी प्रतिवादी सहकारीको सेवा केन्द्र प्रमुख वीरेन्द्र गुरुङलाई पनि समान सोही कैद सजाय र जरिबाना तोकिएको छ । कर्मचारी अनिषा क्षेत्रीलाई पनि कसुरमा मतियार गरेको बताउँदै ३ महिना कैद सजाय सुनाएको छ । अदालत बगाले र गुरुङबाट ८ करोड ५० लाख रुपैयाँ सहकारीमा भराउन आदेश गरेको छ । ८ करोड ५६ लाख रुपैयाँ बिगो माग दाबी गर्दै जिल्ला अदालतमा २०८१ फागुन ११ गते मुद्धा दायर भएको थियो । यसमा प्रतिवादीहरूले वारदातका सम्बन्धमा अदालत तथा विभिन्न निकायहरूमा गरेको कागज, बयान तथा वित्तीय विश्लेषकको प्रतिवेदन समेतलाई मध्यनजर गरी सजाय प्रयोजनको लागि ३ करोड ५० लाख बिगो कायम गरी वीरेन्द्र र मधुमाया बगालेलाई जनही ४ वर्ष २ महिना कैद र १ करोड ७५ लाख रुपैयाँ जरिवाना हुने अदालतले ठहर गरेको छ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिलाई मिति २०८१।५।१० सम्मको साँवा ८ करोड ५६ लाख २४ हजार ९८५ रुपैयाँ र सो मितिपछि बिगो भरिभराउ हुँदाको मितिसम्मको सहकारी संस्थाले कर्जातर्फ निर्धारण गरेको ब्याजसमेत दामासाहीबाट भराइदिन ठहर्छ,’ अदालतको फैसलामा उल्लेख छ । प्रतिवादीहरू मधुमाया बगाले तथा विरेन्द्र गुरुङको परिवारको नाउँमा कायम गरिदिएको ऋणको साँवा र ब्याजको दायित्व निजहरू आफैँले व्यहोर्नुपर्ने अदालतको ठहर छ । सहकारीको करिब ११ करोड रुपैयाँ ठगी गरेको अभियोगमा उनीहरूलाई यसअघि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको पत्रका आधारमा वित्तीय विश्लेषक निर्मल गौतमले सहकारीको अवस्था विश्लेषण गरेर अनुसन्धानका लागि सिफारिस गरेका थिए । प्रतिवेदनकै आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । बगालेलाई सम्पत्ति शुद्धीकरण, संगठित अपराधतर्फ पनि सजाय माग दाबी गर्दै जिल्ला अदालतमा मुद्धा दायर गरिएको थियो । तर, जिल्ला अदालतमा स्रेस्तेदार रामबाबु गौतमले सम्पत्ति शुद्धीकरण, संगठित अपराधतर्फ दाबी नपुग्ने र सहकारी ठगीमा कसुर ठहर गर्दै सजाय तोक्ने अदालतले आदेश गरेको बताए । नेकपा एमालेबाट वडा सदस्य जितेकी बगाले र सेवा केन्द्र प्रमुख वीरेन्द्रले मिलेर सहकारीको सेवा केन्द्रको रकम हिनामिना गरेको भन्दै सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी परेको थियो । त्यही उजुरीका आधारमा कार्यालयले गौतमलाई वित्तिय विश्लेषणका लागि खटाएको थियो । वित्तिय विश्लेषणकै आधारमा मुद्दा अगाडि बढेको थियो । जनकल्याण बचत तथा ऋण सहकारीको सेवा केन्द्र ङादीको सेवा केन्द्र प्रमुखलाई प्रयोग गरी सहकारीमा नक्कली कर्जा खडा गराई सहकारीको रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख थियो । सहकारीको रकम ठगीमा वीरेन्द्रसँग मिलेर अनिशा भण्डारीलगायतको संलग्नत देखिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी वेसीशहरले नै आवश्यक कारबाहीको लागि पत्र काटेको थियो । २०५४ सालमा स्थापना भएको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय जिल्ला सदरमुकाम बेसीसहरमा छ । यसले लमजुङका विभिन्न ठाउँमा ८ वटा सेवा केन्द्र रहेको उल्लेख छ । आर्थिक वर्ष २०८२/८३ मा संस्थाले ७१ करोड २३ लाख २२ हजार ५१ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४६ करोड ९५ लाख ७५ हजार १ सय ९२ रुपैयाँ ऋण लगानी गरेको छ । २७ जना सेयर सदस्यबाट सुरु भएको जनकल्याण साकोसमा हाल १३ हजार ५३६ पुगेको सहकारीका प्रबन्धक झमप्रसाद गुरुङको भनाइ छ ।साभार : अखप












