आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल…..

काठमाडौँ –        निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरुसँग छलफल एवं परामर्श सुरु गरेको हो । आयोगले आज नै विभिन्न राजनीतिक दलहरुसँग छलफल सुरु गर्ने भएको जनाएको छ । सो प्रयोजनका लागि राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरुलाई आज आयोगले छलफलका लागि आमन्त्रण गरेको छ । आयोगले आज बिहान ११ः३० बजे दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आजका लागि राजनीतिक दलहरुलाई छलफलमा बोलाइएको जानकारी दिए । प्रवक्ता भट्टराईले भने, “स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि नै उहाँहरुलाई आयोगमा आमन्त्रण गरिएको हो । राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूलाई आज छलफलका लागि आयोगमा आमन्त्रण गरिएको उनले बताए । स्थानीय एवं प्रदेश तहको निर्वाचनका सन्दर्भमा आयोगमा आज ती राजनीतिक दलका प्रतिनिधिहरुसँग आवश्यक परामर्श एवं छलफल हुने भएको हो । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ । त्यसैले आयोगले नयाँ निर्वाचनको मिति घोषणा र निर्वाचनको तयारीका सन्दर्भमा गृहकार्य थालेको हो । निर्वाचनको मिति तथा व्यवस्थापन, आवश्यक पूर्वतयारीका सम्बन्धमा राजनीतिक दलहरूको सुझावका लागि सो छलफल गर्न लागिएको आयोगले जनाएको छ । आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अरु राजनीतिक दलहरुसँग पनि छलफल गर्ने कार्यक्रम तय गरेको छ ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार