तिब्बती शरणार्थीलाई अमेरिकाको एक करोड ७० लाख डलर

२७ भदौ, वाशिङ्टन । तिब्बती शरणार्थीको मुद्दालाई सघाउन अमेरिकी संसदले एक करोड ७० लाख डलर छुट्याएको छ ।

सन् २०१८ मा विदेश मन्त्रालयको वार्षिक बजेटमा उक्त रकम समावेश छ । सोही परिमाणको बजेट सन् २०१७ मा विनियोजन गरिएको थियो । अमेरिकी संसदका दुई वटा समितिले तिब्बती शरणार्थीका लागि विनियोजित पछिल्लो स्वीकृत गरेका हुन् ।

उक्त रकम अमेरिकाले सीधै भारतको धर्मशालास्थित तिब्बती निर्वासित सरकारलाई पठाउने गरेको छ, जुन संस्कृति संरक्षण, शरणार्थीलाई सहायता र संस्थागत विकास शीर्षकमा खर्च हुन्छ ।

उक्त बजेटमध्ये ८० लाख डलर संस्कृति र परम्पराको संरक्षण, दिगो विकास तथा शरणार्थी बसोबास गरिरहेका स्थानहरुको वातावरणीय सम्बर्द्धनका लागि खर्च हुनेछ । रमाइलो के भने उक्त बजेट चीनभित्रका तिब्बतीहरुको स्वायत्त क्षेत्रहरुमा पनि खर्च गरिने संसदीय समितिहरुले पारित गरेको ‘सिलिङ’मा उल्लेख छ ।

थप ३० लाख डलर तिब्बतीको संस्थागत र सुशासन क्षमता अभिवृद्धिका लागि खर्च गरिने छ । अमेरिकी संसदको माथिल्लो सदन सिनेटको विनियोजन समितिले दक्षिण एसियामा तिब्बती समुदायले लोकतान्त्रिक संस्थाहरुलाई स्थापित गर्न निर्वाह गरेको भूमिकाप्रति सराहनासमेत गरेको छ । र, सोही कारण उक्त समुदायको कल्याणकारी कामका लागि बजेट विनियोजन गरिएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

यस्तै, नेपाल र भारतमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीको शिक्षा, सीप विकास र उद्यमशीलताका लागि ६० लाख डलर छुट्याइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार