अमेरिकालाई इतिहासकै ठूलो पीडा भोग्न तयार रहन उत्तर कोरियाको चेतावनी

२६ भदौ, काठमाडौं । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आफू बिरुद्ध नाकाबन्दी कस्ने निर्णय गरेमा अमेरिकाले इतिहासमै नभोगेको पीडा भोग्नुपर्ने चेतावनी दिएको छ । उत्तर कोरियाले अमेरिकालाई महंगो मूल्य चुकाउन तयार रहन चुनौति दिएको छ ।

उत्तर कोरियाको विदेश मन्त्रालयले सोमबार प्योङयाङमा जारी गरेको विज्ञप्तिमा भनिएको छ- यदि अमेरिकाले प्रस्ताव गरेको अवैधानिक र अन्यायपूर्ण रिजोलुसन पास गरेमा अमेरिकालाई जस्ताको तस्तै जवाफ दिइनेछ ।

विज्ञप्तिमा उत्तर कोरियाली सरकार त्यो अवस्थामा जुनसुकै कदम उठाउन तयार रहेको भन्दै युद्धको सन्देश दिएको छ । उत्तर कोरियाले भनेको छ- प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले निकट भविष्यमा उठाउने कदमले अमेरिकालाई असाधारण पीडा र दुःख दिनेछ, जुन अहिलेसम्मको इतिहासकै ठूलो हुनेछ ।

राष्ट्रसंघ सुरक्षा परिषदमा उत्तर कोरियामाथि थप कडा प्रतिबन्ध लगाउने अमेरिकी प्रस्तावमाथि सोमबार मतदान हुने भनिएको छ । अमेरिकाको उक्त प्रस्तावमा चीन र रुसले सहमति जनाएका छैनन् । उनीहरु उत्तर कोरियाको आणविक परीक्षणको विपक्षमा भए पनि नाकाबन्दी कडा बनाएर उत्तरलाई थप किनारामा धकेल्ने पक्षमा छैनन् ।

उत्तर कोरियाले हालैमात्र एक सय किलोटनको हाइड्रोजन बम परीक्षण गरेको थियो । जसले ६ दशमलव ५ रेक्टर स्केलको भूकम्पको धक्का दिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार