नेपालको भारतविरुद्ध एतिहासिक जित

  बगैचा सम्बाददाता

एसिसी यु–१९ एसिया कपअन्तर्गत आइतबार भएको खेलमा नेपाली युवा क्रिकेट टोलीले टेस्ट मान्यता प्राप्त भारतको युवा टोलीलाई पराजित गर्दै क्रिकेटमा भारतविरुद्ध नेपालले एतिहासिक जित निकालेकाे छ । क्रिकेटमा भारतविरुद्ध नेपाल विजय हासिल गरेको यो पहिलो पटक हो । एसिसी यु–१९ एसिया कपका लागि मलेसियामा रहेको नेपाली युवा टोलीले साबिक विजेता भारतविरुद्ध १९ रनले जितको हो । नेपालले यसअघि यु–१९ स्तरमा टेस्ट खेल्ने बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र पाकिस्तानलाई पराजित गरेको थियो । कप्तान दीपेन्द्रसिंह ऐरीले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । ऐरीले अलराउन्ड प्रदर्शन गर्ने क्रममा १ सय १ बलमा ८८ रनको योगदान गरेपछि टस हारेर ब्याटिङलाई निम्त्याइएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रनको योगफल खडा गरेको थियो । दसौं ओभरमा २८ रन जोड्दा ओपनर आसिफ शेख र अनिलकुमार शाहलाई गुमाएपछि लडखडाएको नेपालको इनिङ अर्का ओपनर जितेन्द्र शाह र दीपेन्द्रसिंह ऐरीले सम्हालेका थिए । जितेन्द्र र दीपेन्द्रले दुईले तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलतर्फ लम्किएको थियो । नेपालले ७७ रन बनाउँदा ३ चौकासहित ३६ रन जोडेका जितेन्द्र पनि पवेलियन फर्किएपछि कप्तान दीपेन्द्रसिंहमाथि थप जिम्मेवारी बढ्यो । ६ चौका र २ छक्का जोडेका दीपेन्द्रले रोहितकुमार पौडेलसँग चौथो विकेटका लागि २८ तथा भीम सार्कीसँग पाँचांै विकेटका लागि १९ रनको साझेदारी गरेका थिए । रोहितकुमार ६, भीम सार्की १५, पवन सर्राफ १ रन बनाएर आउट भए । त्यसपछि दीपेन्द्रसिंहले कमलसिंह ऐरीसँग सातौं विकेटका लागि ३१ रनको साझेदारी गरे । कमलसिंह ऐरी ५ रन बनाएर आउट भए । शतकतर्फ लम्किएका कप्तान दीपेन्द्रसिंह ४८.२ ओभरमा आउट हुँदा नेपाल १७२–८ को स्थितिमा थियो । सन्दीप लामिछाने ९ र किशोर महतो ७ रनमा अविजित रहे । नेपालले भोलि मंगलबार घरेलु टोली मलेसियासाग प्रतिस्पर्धा गर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार