थप ९ सय किलोमिटर सडक खन्दै मेलम्ची, अझै ३ वर्ष धुलोको सास्ती

 

१७ माघ, काठमाडौं । मेलम्ची आएपछि काठमाडौंको धुलो हट्ला ? सबैको अपेक्षा त त्यही छ । तर, त्यो आशा छिट्टै निराशा परिणत हुँदैछ । किनभने, मेलम्ची आयोजनाले अध्ययन गरिरहेको र गरिसकेको करिब नौ सय किलोमिटर नयाँ पाइप बिछ्याउनै बाँकी छ । चक्रपथभित्रै तीन सय किमि पाइप बिछ्याउने कामका लागि ठेक्का नै भएको छैन । चक्रपथबाहिरको चार सयदेखि पाँच सय किमिमा वितरण सञ्जाल विस्तारका लागि अध्ययन हुँदैछ । अहिले काम भइरहेका क्षेत्रभित्र करिब सय किमिमा पनि पाइप बिछ्याइसकिएको छैन । करिब ९० किमि पाइपलाइनको काम बाँकी छ । थोक वितरण प्रणालीको १० र वितरण सञ्जालका लागि ८० किमि पाइप बिछ्याउने काम सकिएको छैन ।काठमाडौं उपत्यका धुलोमुक्त कहिले हुन्छ ? सरकारी अधिकारीहरुसँगै यसको जवाफ छैन । पाइप बिछ्याउने र सडक विस्तारको कामका कारण अहिले उपत्यकाका सडकमा धुलो र हिलोको ‘साम्राज्य’ छ । साढे तीन सय किमि पाइप बिछ्याउन टेन्डर नै गरेको छैन, सरकारले । जबकि, मेलम्चीको पानी वैशाख ०७५ देखि उपत्यकामा वितरण गर्ने दाबी गरेको थियो, यसअघि । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन एकाइ (पीआईडी)ले बजेट अभाव भएपछि धुम्बाराहीदेखि कलंकीसम्म चक्रपथभित्र पाइप बिछ्याउने टेन्डर निकाल्न सकेको छैन । करिब आठ अर्ब रुपैयाँको जोहो एसियाली विकास बैंक (एडीबी)मार्फत् नै गर्ने योजनामा छ, पीआईडी । त्यसका लागि अर्थ मन्त्रालयसँग सहमति मागिएको पीआईडीका प्रवक्ता लीलाप्रसाद ढकाल बताउँछन् । चक्रपथभित्रको बाँकी क्षेत्रमा पाइप बिछ्याउन गरिएको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदनलाई एडीबीले पुनरावलोकन गरिररहेको छ, आफ्नै प्राविधिक टोलीमार्फत् । अध्ययन सकिएपछि मात्रै थप ऋण दिने/नदिने निर्णय आउनेछ । महाराजगञ्ज, सामाखुशी, कलंकी, पेप्सिकोला, गोठाटार, ठिमी, भक्तपुर, कीर्तिपुर, कपन, बौद्ध, चाबहिल, जोरपाटी र मण्डिखाटार क्षेत्रमा सडक खन्ने तयारी छ , एडीबीले ऋण नदिए सरकार आफैंले बाँकी क्षेत्रमा नयाँ पाइप बिछ्याउन बजेट दिनुपर्नेछ । किनभने, थोत्रा पाइप नफेरिए चुहावट जटिल बन्ने निश्चित रहेको अधिकारीहरु बताउँछन् ।पीआईडीका अनुसार चक्रपथभित्र पाइप बिछ्याउन थालेपछि उपत्यका फेरि एकपटक धुलोले ढपक्कै ढाकिनेछ । पाइपलाइन तयार पार्न चक्रपथभित्रै करिब चार सय किमि सडक खन्न बाँकी छ । उपत्यका धुलो र हिलोबाट मुक्त हुन अझै केही वर्ष लाग्ने स्पष्ट देखिएको छ । सवारी साधनहरुले एक ठाउँको धुलो र हिलो अर्को ठाउँसम्म पुर्‍याउने र वायुमण्डलमा फैलिने क्रम अझै तीन वर्षसम्म जारी रहन सक्ने पीआईडीका अधिकारीहरु स्वीकार्छन् । तर, सरकारले धुलो फैलिन नदिने विकल्पहरुमा छलफल थालेको छ । मुख्य सडक र चोकहरुमा नखनी ‘माइक्रोटनेलिङ’ अर्थात ‘ट्रेंकलेस’ प्रविधि प्रयोग गर्ने योजना बनाइएको ढकाल बताउँछन् ।तर, सबै सडकमा यो प्रविधि उपयोग नहुने उनको भनाइ छ । उक्त प्रविधिमार्फत् सडक नखनी भूमिगत रुपमै पाइप राख्न सकिन्छ । तर, यो अहिलेको भन्दा महँगो प्रविधि हो । ‘बढी आवात-जावत हुने मुख्य चोक र सडकमा यो प्रविधि अपनाएर पाइप राख्न सकिन्छ कि भनेर अध्ययन गरिएको छ । एउटा बंगलादेशी कम्पनी सघाउन तयार छ,’ ढकाल भन्छन्, ‘यसमा जान सकियो भने धुलोको सास्ती कम हुन्छ । चाबहिलदेखि गौशालासम्मको एउटा लाइनमा मात्र माइक्रोटनेलिङ उपयुक्त हुने देखिएको छ । ढकालका अनुसार त्यसमार्फत् उक्त लाइनमा चार महिनाभित्रै पाइपलाइन तयार हुने अनुमान छ । पीआईडीले अर्को चरणमा चक्रपथबाहिर पाइपलाइन विस्तारको योजना बनाएको छ । पेप्सिकोला, गोठाटार, ठिमी, भक्तपुर र कीर्तिपुरमा नयाँ पाइप बिछ्याउने तयारी छ । यस्तै, कपन, बौद्ध, चाबहिल, जोरपाटी र मण्डिखाटारमा पनि नयाँ पाइप बिछ्याउन अध्ययन भइरहेको छ । ती सबैमा गरी करिब पाँच सय किमि पाइप बिछ्याउनुपर्छ । र, त्यसका लागि ठूलै परिमाणमा खर्च हुने अनुमान छ । चक्रपथबाहिर बिछ्याउनुपर्ने पाइपको लम्बाइ यकिन भइनसकेको ढकाल बताउँछन् । तर, ती इलाकामा पाइप बिछ्याउने काम कहिलेबाट शुरु हुने र कहिले सकिने भन्ने कुनै टुंगो छैन । अहिले मेलम्चीले थोक वितरण प्रणालीको पाइप बिछ्याउन पाँच वटा प्याकेजमा काम गरिरहेको छ । र, वितरण सञ्जाल विस्तारका लागि तीन वटा प्याकेजमा । वितरण सञ्जालका लागि थप दुई वटा प्याकेजमा ठेक्का लगाउने तयारीमा छ, पीआईडी । तर, धुम्बाराही, महाराजगञ्ज, सामाखुशी, कलंकीलगायत क्षेत्रमा पाइप बिछ्याउने काम मेलम्चीको पानी आएपछि नै शुरु हुने अनुमान छ ।तत्काललाई ती क्षेत्रका बासिन्दाले पुरानै वितरण सञ्जालबाट पानी पाउने छन् । पीआईडीले पहिलो चरणमा चक्रपथभित्रका कुल ८४ हजार दुई सय १७ घरधुरीमा नयाँ पाइपलाइन पुर्‍याउनेछ । हालसम्म ४५ हजार एक सय ८६ घरधुरीमा नयाँ पाइपलाइन पुर्‍याइसकिएको प्रवक्ता ढकालको भनाइ छ । बाँकी एकतिहाइ घरधुरीले मेलम्ची आएपछि पनि केही समय पुरानै वितरण प्रणालीबाट पानी पाउनेछन् । एडीबीले चक्रपथभित्र अहिले सञ्चालनमा रहेको परियोजनाका लागि ८४ अर्ब रुपैयाँ ऋण सहयोग दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार