६९ औं साहित्य श्रृंखलामा “सपनाको क्षितिज” माथि चर्चा, “माइत जाने बाटो” बाट श्रृंखलालाई सहयोग

  टोपबहादुर याक्खा

हङकङ– हङकङबासी कवि पूर्णिमा शाहको गतसाल प्रकाशित दोस्रो कविता संग्रह “सपनाको क्षितिज” माथि गहन समीक्षा तथा सृजना वाचन गर्दै जोर्डन स्थित नयाँ पेजको कार्यालयमा ६९ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।

साहित्य श्रृंखलाका संयोजक कवि तथा गीतकार डी.बी. पालुङवाको अध्यक्षतामा सम्पन्न उक्त श्रृंखलाको पहिलो चरणमा उपस्थित कवि तथा साहित्यकारहरु आदिवासी लेखक तथा त्रिकोण कविताका प्रवर्तक भुपेन्द्र चेम्जोङ, मनु कन्दङ्वा, रबिन राई, सुनिता गिरी, दिपेन्द्र राई, रमण गुरुङ, दिपेन्द्र राई, अतित मुखिया, आयुषी पौड्याल, दाजु गुरुङ, लालबहादुर गुरुङ, चन्द्र मादेन “आन्छन”, टंक सम्बाहाम्फे, अतित मुखिया, हेम कुमार लावती, भविन लिम्बु लगायतले सृजना वाचन गरेर सुनाएका थिए ।

सोहि क्रममा श्रृंखलाकी पूर्व सह–संयोजक समेत रहेकी कवि पूर्णिमा शाहको गतसाल प्रकाशित दोस्रो कविता संग्रह “सपनाको क्षितिज” माथि रेखा कवि, साहित्यकार तथा संस्कृतिविध अतित मुखियाद्धारा गहन समीक्षा गर्दै सपनाको क्षितिजलाई एक अब्बल नारीकृतका रुपमा दर्ज गरेका थिए ।

कार्यक्रमकै शिलशिलामा गत ७ जनवरीमा आफ्नो पहिलो कविता संग्रह “माइत जाने बाटो” बजारमा ल्याएकी श्रृंखलाका सह–संयोजक समेत रहकी सुनिता गिरीलाई संयोजक डी.बी. पालुङवाद्धारा खदा ओडाएर सम्मान गर्दै हार्दिक बधाई दिइएको थियो भने “माइत जाने बाटो” की सर्जक सुनिता गिरीले उक्त कविता संग्रह विक्रीबाट आएको २ हजार हङकङ डलर श्रृंखलाको कोष स्थापनार्थ संयोजक डी.बी. पालुङवालाई हस्तान्तरण गरेकी थिईन् । निरन्तर ६९ औं भाग सम्म आइरहेको साहित्य श्रृंखला हङकङमा सबै भन्दा सकृय र सबै साहित्यकारहरुलाई समेटेर अगाडी बढ्न सपल साहित्यिक संस्था भएता पनि हाल सम्म श्रृंखलाको कुनै कोष नभएकाले आफुबाट कोष स्थापनाको शुरुवात गरेको र यसमा सबैबाट सहयोग बढ्दै जानेमा आफु विश्वस्त रहेको श्रृंखलाकी सह–संयोजक समेत रहकी सुनिता गिरीले बताईन् । श्रृंखलाको आफ्नै कोष नभएता पनि विभिन्न समाज, समाजसेवी तथा व्यापारीहरुबाट आर्थिक सहयोग लिएर वार्षिक रुपमा हङकङ लगायत विभिन्न देश विदेशका साहित्यिक व्यक्तित्वहरुलाई साहित्य श्रृंखलाले नगद सहित सम्मान गर्दै आएको छ ।

साहित्य श्रृंखलाको समापनसंगै सोही स्थानमा भविन लिम्बुको अध्यक्षतामा अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज हङकङ च्याप्टरको पूनर्गन समेत भयो । यसरी मनोनित पदाधिकारीहरुमा क्रमशः अध्यक्षमा भविन लिम्बु, उपाध्यक्ष रमण गुरुङ, महासचिव पूर्णिमा शाह, सचिव दिपेन्द्र राई तथा कोषाध्यक्षमा सुनिता गिरी रहेका छन् भने अन्य सदस्यहरु क्रमशः थपिदै लगिने समितिले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार