राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो पूर्णता

२० माघ, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले पूर्णता पाएको छ । यससँगै राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिको सम्पूर्ण अधिकार तथा स्वामित्व प्रतिष्ठानमा समाहित भएको छ ।  उपकुलपति संगिता भण्डारीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री दीपक बोहोराले पदाधिकारीको नियुक्त गरेपछि प्रतिष्ठानले पूर्णता भएको हो । प्रतिष्ठानको डिनमा प्रा. डा. ऋतु शर्मा बराल नियुक्त भएकी छन् । रजिष्ट्रारमा रामप्रसाद प्याकुरेल र रेक्टरमा प्रा. डा. रतन्द्र श्रेष्ठ नियुक्त भएका छन् । प्रतिष्ठानअन्तर्गत सञ्चालन हुने अस्पतालको निर्देशक भने नियुक्त गरिएको छैन । ‘दाङमा आवश्यक परामर्शपछि निर्देशकको नियुक्त गरिने छ,’ उपकुलपति प्रा. डा. भण्डारीले अनलाइनखबरलाई भनिन्, ‘अब राप्ती उपक्षेत्रीय अस्पतालको सम्पूर्ण पूरानो संरचना खारेज गरिएको छ ।’

२२ गते बालुवाटारमा बैठक

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आगामी २२ गते प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आयोजना गरिएको भण्डारीले जानकारी दिइन् । बैठकले प्रतिष्ठानको सम्पूर्ण कार्यविधि र कर्मचारी नियमावली पारित गर्ने उनले जानकारी दिइन् । अब राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिको सम्पूर्ण अधिकार तथा स्वामित्व प्रतिष्ठानमा समाहित हुने छ,’ भण्डारीले भनिन्, ‘उपक्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा सम्पूर्ण कर्मचारी प्रतिष्ठानको मातहतमा आउनुपर्ने छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा कर्मचारी नियमावली कार्यान्वयन भएको ६ महिनाभित्र त्यहाँ कार्यरत चिकित्सक, नर्स तथा कर्मचारी प्रतिष्ठानमा आइसक्नुपर्ने छ । प्रतिष्ठानमा आउन नचाहने चिकित्सक, नर्स तथा कर्मचारीहरुले सो अबधिमा अन्यत्र सरुवा हुनुपर्ने छ । उपक्षेत्रीय अस्पतालका डाक्टरहरुले आफूहरु प्रतिष्ठानमा पनि सरकारी दरवन्दिमा रहेर काम गर्न पाउनुपर्ने बताउँदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार