‘रौनक छाउँदै थियो, शोकमा डुब्यो गाउँ’

माघ २८, २०७४   कपिलवस्तु — तीन दिनअघि छोरीको विवाह तय भएकाले घरमा रौनक सुरु भइसकेको थियो । परिवारका सदस्य काम बाँडफाँट गरेर आवश्यक सामान जोहो गर्न जुटिसकेका थिए । निम्तालुबारे छलफल भइरहेको थियो । बिहान ५ बजे सिँचाइ मन्त्रालयबाटै फोन आयो– ‘सचिव सवार गाडी त्रिशूलीमा खस्यो । अचानक माहोल बदलियो । परिवारमा रुवाबासी मच्चियो ।  दुर्घटनामा सचिव यादव र आफन्तकी छोरीको मृत्यु भयो भने सचिवका छोरा हराइरहेका छन् । यो खबरले यादवको परिवार मात्र होइन, कृष्णनगर नगरपालिका ८ डिहवा गाउँ पूरै शोकमा डुबेको छ । ‘४५/४६ घर रहेको गाउँका अभिभावक थिए,’ छिमेकी जगदेव यादवले भने, ‘बिहानैदेखि गाउँमा रुवाबासी छ ।’ स्थानीय दिनभर मलिन अनुहारमा भेटिए । ‘कतिपयले घटना पत्याएकै छैनन्,’ उनले भने,’ ंसाँझ हाँसीखुसी भलाकुसारी गर्‍यौं, राम्रो मान्छेलाई दैवले चुँडेर लैजाँदा दु:खी छौं ।’ गाउँका सानादेखि ठूला सबैका आखा ओभाएका छैनन् । शनिबार अधिकांशले खाना खाएनन् । ‘पूरै गाउँमा सन्नाटा छाएको छ,’ उनले भने, ‘गाउँमाथि ब्रजपात परेको छ । सचिव यादवकी माइली छोरी डा. रञ्जनाको बिहेको कुरा छिन्न सचिव यादव घर आएका थिए । माघ २५ गते छोरीको तिलक लिएर उनी वरको घर भैरहवा गएका थिए । विवाह फागुन ११ गते भैरहवाका डा. रणधीर यादवसँग पक्का गरिएको थियो । तीन छोरीमध्ये जेठी नितुको बिहे भइसकेको छ । पत्नी कमला र कान्छी छोरी घटनाको खबरलगत्तै घटनास्थल हिँडेका थिए । ‘शुक्रबार साँझ ८ बजे परिवारका सबै एकै ठाउँ बसेर खाना खायौं,’ दाजु छेदीले भने, ‘साँझ भाइलाई काठमाडौं जानका निम्ति बिदाइ गरेका थियौं ।’ उनका अनुसार खाना खाने क्रममा पनि छोरीको बिहे धुमधामसित गर्ने छलफल भएको थियो । ‘तर त्यो बिदाइ अन्तिम बन्यो,’ उनले भने, ‘विश्वासै लागेको छैन । सचिव यादव कर्तव्यनिष्ट र इमानदार राष्ट्रसेवक थिए,’ सांसद अभिषेकप्रताप शाहले सम्झिए, ‘मुलुकले गतिलो जनशक्ति गुमाएको छ ।’ सहपाठी रामबहादुर शुक्लाका अनुसार उनमा उच्च पदमा पुगे पनि कुनै घमण्ड थिएन ।

छोरा सन्तोष बेपत्ता

सलाङघाट (धादिङ)– सिँचाइ सचिव रामानन्दप्रसाद यादव आफंैले हाँकेको जिप शनिबार त्रिशूलीमा खस्दा सचिव यादवसहित २ जनाको मृत्यु भएको छ । घटनामा सचिवका २२ वर्षीय छोरा सन्तोष बेपत्ता छन् भने आफन्तकी १५ वर्षीया छोरी उन्नति गुप्ताको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर–९ स्थित घरबाट नेपाल प्रहरीमा कार्यरत चिकित्सक छोरी डा. रञ्जना यादवको आगामी फागुन ११ गते बिहेको कुरो छिनेर सचिव यादव शुक्रबार काठमाडौंतर्फ लागेका थिए । पृथ्वी राजमार्गको (मलेखुबाट ४ किमि पश्चिम) बेनीघाट सलाङघाटबाट बा१झ ३१४० नम्बरको स्कारपियो जिप बिहान पौने ३ बजे सडकछेउका दुईवटा प्याराफिट भत्काउँदै नदीमा खसेको थियो । गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाका अनुसार जिप करिब ४० मिटर तलको त्रिशूलीको गहिरो दहमा डुबेको थियो । सचिव यादव र गुप्ताको शव झिकिए पनि छोरा सन्तोष भेटिएका छैनन् । जिपबाट पानीमा खसेका चालक निरञ्जन यादव करिब सय मिटर तल पुलमुनि पुगेर कराएपछि नजिकैको सिद्धलेक–४, माझीगाउँका स्थानीयले उद्धार गरी मलेखु अस्पताल पुर्‍याएका थिए । ‘त्रिशूली किनारको छिपछिपे पानीमा उभिएर चालक कराउँदै थिए, बोकेर बगरमा ल्याएँ । पेट दुख्यो भन्दै थिए । बगरमा १५ मिनेट सुताएर मलेखुस्थित अस्पताल पुर्‍याएँ,’ उद्धारमा खटिएका माझीगाउँका युवा हरि माझीले भने । चालक यादवका अनुसार चन्द्रौटाबाट १७ किमियता आएपछि सचिव आफैंले जिप हाँकेका थिए । उनी अगाडिकै सिटमा रहेका छोरा सन्तोषसँग छोरीको बिहेबारे गफिँदै थिए । आफू र आफन्तकी छोरीलाई पछाडि सिटमा राखेर उनले तीव्र गतिमा जिप हाँकेको चालकको भनाइ छ । दुर्घटनाको खबर पाएलगत्तै प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी र जिल्ला प्रहरी प्रमुख एसपी ध्रुवराज राउत घटनास्थल पुगेका थिए । सेना र कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीका गोताखोर उद्धार कार्यमा परिचालन गरिएको थियो । गोताखोरले ३० फिट गहिरो दहबाट बिहान ८ बजे सचिवको शव चालक सिटको बेल्ट काटेर निकालेका थिए । उद्धारमा संलग्न प्रहरीले जिप सचिव यादवले नै चलाएको देखिएको बताए । सचिव यादवको ९८४९१०२२३० नम्बरको सिमकार्डसहितको सामसुङ मोबाइल भीरमा फेला परेको थियो । पानी धमिलो भएकाले शव झिक्न कठिन भएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । उनका अनुसार जिप तानेर बगरमा निकालेपछि अपराह्न ४ बजे गुप्ताको शव भेटिएको थियो । उनको शव जिपभित्रै थियो ।
गोताखोर नै बेहोस, सचिवको शव झिकेर अगाडिकै सिटमा बसेको भनिएका छोरा सन्तोषलाई खोज्न पानीमा डुबेका सशस्त्र प्रहरीका हवल्दार गोताखोर तीर्थराज चपाई पानीमै बेहोस भएका थिए । अक्सिजन सकिएर बेहोस भएका चपाईको अर्का गोताखोर नरेन्द्रसिंह भण्डारीले उद्धार गरेका थिए । उनलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ । चपाईलाई झिक्न अक्सिजन सिलिन्डरलगायत सामग्री पानीभित्रै काट्नुपरेको प्रहरीले जनाएको छ । बिहान १० बजे घटनास्थल पुगेकी सचिवकी छोरी डा. रञ्जनाले बेहोस गोताखोरको प्राथमिक उपचार गरेर श्वासप्रश्वास प्रक्रिया नियमित गराएकी थिइन् ।  सिँचाइमन्त्री सञ्जय गौतम र राज्यमन्त्री अमर पुन पनि घटनास्थल पुगेर प्रजिअ श्यामप्रसाद भण्डारी र प्रहरी उपरीक्षक धु्रवराज राउतसँग दुर्घटनाबारे जानकारी लिएका थिए । उनले माघमा पनि त्रिशूली धमिलो हुनुको कारण सोधेका थिए । प्रजिअले जवाफ दिन नपाउँदै स्थानीयले प्रशाासनकै मिलेमतोमा त्रिशूली दोहन भइरहेको र त्यही कारण पानी धमिलो भएर उद्धारमा कठिनाइ बेहोर्नुपरेको भन्दै आक्रोश पोखेका थिए । मन्त्री गौतमले त्रिशूली दोहन गर्नेमाथि किन कारबाही नगरेको भनी भण्डारीलाई सोधेका थिए । प्रजिअ भण्डारीले त्रिशूलीलाई प्रदूषणबाट जोगाउने उपायबारे छलफल भइरहेको बताएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार