बैशाख १७, २०७५ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण (अगस्ट २०१४) का वेला राजनीतिक स्तरबाट टुंगो लागिसकेको भारतले नेपालतर्फ जहाज प्रवेश बिन्दु थपिदिने विषय अझै पनि टुंगोमा पुग्न सकेको छैन । त्यसवेला राजनीतिक स्तरमा सहमति भई प्राविधिक तहमा आइसकेको यो विषय साढे चार वर्ष नाघिसक्दा पनि टुंगिएको छैन । नेपालमा निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखराका लागि थप जहाज प्रवेश मार्ग आवश्यक पर्छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ । पछिल्लो समय सन् २०१६ मा नेपाल र भारतका अधिकारीबीच द्विपक्षीय छलफलबाट थप प्रवेश बिन्दुको विषयलाई अध्ययनबाट टुंग्याउने सहमति गरिएको थियो । अहिले नेपालमा भारतीय आकाश प्रयोग गरेर आउने सबै जहाजका लागि एउटा मात्र प्रवेश मार्ग (सिमरा) उपलब्ध छ । नेपालबाट बाहिरिने बिन्दु भने ५ वटा छन् । चीन र भुटानबाट आउने–जाने जहाजका लागि भने उत्तर र पूर्वी नेपालमा छुट्टै रुट उपलब्ध छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार भारतले मागेको समयमा नेपालको तयारी नपुग्ने र नेपालले मागेको समयमा भारतले समय दिन नमान्दा दुई वर्षयता नेपाल–भारत प्राविधिक टोलीको वार्ता हुन सकेको छैन । जहाज प्रवेश बिन्दुको विषयमा राजनीतिक तथा प्रशासनिकस्तरबाट सहमति भए पनि प्राविधिक अध्ययनको प्रतिवेदनविना लागु हुन सक्दैन । द्विदेशीय हवाईमार्ग र प्रवेश बिन्दुको विषय सर्च एन्ड रेस्क्यूसँग पनि जोडिएका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस सम्बन्धमा पनि काम गरिरहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । सर्च र रेस्क्यूमा द्विदेशीय सम्झौता गर्दा त्यसमा थप प्रवेश बिन्दुलाई पनि समावेश गर्न सकिनेबारे काम भइरहेको मन्त्रालयको भनाइ छ ।












