बैशाख २५, २०७५ हराएको भनिएको अवैध ३३ केजी सुन कहाँ छ, कसले लग्यो ? तस्करीकै क्रममा हराएको सुन खोजी, त्यस क्रममा सनम शाक्यको हत्या र त्यसपछि सुरु भएको सरकारी अनुसन्धानले सुन कसले गायब पार्यो भन्ने खोतल्न सकेको छैन । सुन बरामद भएका तस्करी प्रकरणमा त मुद्दा कमजोर भएर अभियुक्तले उन्मुक्ति पाइरहेका छन् भने सुन नै नभेटिए यो घटना अनुसन्धानले कस्तो परिणाम देला ?’ अनुसन्धान अधिकारी नै सशंकित छन् । विमानस्थलबाटै गायब पारिएको सुनको खोजी गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको विशेष छानबिन समितिले गरिरहेको छ त? समितिले २८ प्रतिवादी र ३४ फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा पेस गरेपछि हराएको सुन पत्ता लगाउने अपेक्षा गरिएको थियो। स्रोतका अनुसार समितिले सुनको रहस्य सुल्झाउन प्रयत्न गरे पनि त्यसमा अपेक्षित सूचना भेट्न सकेको छैन। समिति सुनको रहस्यभन्दा पहिला मुद्दा चलाइएका अभियुक्तहरूको बैंकिङ विवरणका अलावा सम्पत्ति विवरण खोतल्ने र त्यसका आधारमा अकुत सम्पत्ति आर्जनको मुद्दा चलाउने तयारीमा जुटेको छ। समितिका एक सदस्यका अनुसार अकुत आर्जन र आर्थिक कारोबारको अध्ययनका लागि समितिले राष्ट्र बैंकसँग समन्वय अगाडि बढाएको छ। गैरकानुनी धनआर्जन र अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा अनुसन्धान गर्ने राष्ट्र बैंकअन्तर्गतको समितिका एक सदस्यले भने ३३ किलो सुन तस्करीसँग जोडिएको मुद्दामा गठित समितिले कुनै परामर्श नलिएको बताए। यसबारे राष्ट्र बैंककै उच्च अधिकारीसँग समन्वय गरेको भए आफूलाई थाहा नभएको ती सदस्यले बताए। समिति स्रोतका अनुसार सुन तस्करीमा संलग्न भनिएकाहरूको बैंक खातामा ठूलो परिमाणको रकम देखिँदैन। केही सदस्यको बैंक खातामा विभिन्न व्यक्तिबाट थोरैथोरै परिमाणको रकम जम्मा भएको देखिए पनि त्यही मात्रै अकुत सम्पत्तिको दाबी पुष्टि गर्न पर्याप्त देखिँदैन।












