जेठ १७, २०७५ २०७२ सालको भूकम्पले पु-याएको क्षतिमध्ये हामीले भुल्न नसक्ने एउटा सम्पदाको नाम हो धरहरा । काठमाडौंको ल्यान्ड मार्कका रूपमा रहेको धरहरा भत्किएको ३ वर्ष पूरा हुँदा पनि यसको पुनर्निर्माण गर्न कुनै सुरसार भएन । कस्तो बनाउने, कसरी बनाउने, कति लगानी गर्ने, कसले लगानी गर्ने ? भन्ने जस्ता प्रश्नको जालोमा अल्झिएको धरहरा पुनर्निर्माणको काम अब भने अगाडि बढ्न खोजेको छ । धरहरा निर्माणका लागि विभिन्न क्षेत्रले चासो दिए पनि अन्ततः नेपाल सरकारले नै आफ्नै लगानीमा निर्माण गर्ने भएको छ । यसअघि नेपाल टेलिकमले धरहरा बनाउने प्रस्ताव अघि सारेर डिजाइन समेत सार्वजनिक गरेको थियो । धरहरा निर्माणका लागि १ अर्ब लगानी गर्ने बताएको टेलिकम पछि हटेपछि सरकारले नै यसलाई अघि बढाउने निर्णय गरेको हो । टेलिकमले आफ्नो व्यावसायिक प्रयोजन गर्ने अभिप्रायः राखेको थियो । अर्कोतिर टेलिकमसँग यति ठूलो भौतिक संरचना बनाएको अनुभव नभएको, उसलाई कठिन पर्ने भएपछि छोडेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा संरक्षण, सार्वजनिक भवन पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए । नयाँ धरहरा निर्माणका लागि अन्तर्राष्ट्रिय रूपमा बोलपत्र अह्वानसमेत भइसकेको छ । अबको झन्डै तीन सातापछि बोलपत्र खोलिने र ठेकेदार कम्पनी छनौटलगतै काम अघि बढ्ने राष्ट्रिय प्राधिकरणका सहसचिव मानन्धरले रातोपाटीलाई जानकारी दिए । धरहरा निर्माणका लागि अघिल्लो पटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले नेपालीको लगानीबाटै धरहरा बनाउन ‘म बनाउँछु मेरो धरहरा’ भन्ने अभियान सुरु गरेका थिए । यसका लागि छुट्टै बैङ्क खातासमेत सञ्चालनमा ल्याइएको थियो । यो अभियानबाट हालसम्म २४ करोड रुपियाँ सङ्कलन भएको छ ।
यस्तो हुनेछ २२ तलाको धरहरा
धरहरा निर्माणका लागि प्राधिकरणले ‘ड्रइङ तथा डिजाइन’ गरिसकेको छ । नयाँ डिजाइनअनुसार अहिले भएको धराहराबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ धरहरा निर्माण गरिनेछ । तर यो पहिलेको जस्तो ९ तलाको हुनेछैन । नयाँ धरहरा २२ तलाको बनाइने भएको छ । प्राधिकरणका सहसचिव मानन्धरले भने– ‘पहिलेको धरहरा ९ तले भए पनि तलाको उचाइ निकै अग्लो थियो । तर अब बन्ने धरहराको तलाको उचाइ पहिलेको भन्दा कम हुनेछ । २२ तलाको भए पनि पहिलाको धरहराभन्दा केही बढी मात्र उचाइ हुनेछ । बोलपत्रमार्फत ठेकेदार कम्पनी छनौट गरेपछि २ वर्षभित्र धरहरा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सुन्धरामा रहेको गोश्वारा हुलाक कार्यालय हटाइने छ भने वाणिज्य बैङ्क रहेको तत्कालीन सिक्का छाप्ने टक्सार भवन पनि भत्काइने छ । सो ठाउँमा सङ्ग्रहालय बनाइने योजना छ । धरहरा रहेको सुन्धरामा २४ रोपनी जमिन रहेको छ, जहाँ धरहराका साथै मनोरम बगैँचा समेत निर्माण गरिने योजना छ । धरहरा पुनर्निर्माणको काम अघि बढाउन सार्वजनिक जगामा बनेका घर टहरामा सञ्चालित घर टहरासमेत भत्काइएको छ ।












