७३ औं साहित्य श्रृंखलामा चित्रकार भ्यान गकको जीवनी

  टोपबहादुर याक्खा

२७ मे, हङकङ– चर्चित होल्याण्डी चित्रकार भ्यान गकको जीवनी संगै श्रृंखलाको ७ औं वार्षिकोत्सव तयारी बारे छलफल, सृजना वाचन तथा समीक्षा गर्दै श्रृंखलाका संयोजक डी.बी. पालुङ्वाको अध्यक्षतामा ७३ औं साहित्य श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो ।
हङकङ नेपाली महासंघको वार्षिकीमा साहित्य विधामा सम्मानित तथा यस वर्षको पारिजात पुरस्कार समेत हात पार्न सफल श्रृंखलाकी सह–संयोजक सुनिता गिरीलाई साहित्य श्रृंखलाको तर्फबाट खदा लगाएर सम्मान गरिएसंगै चित्रकार तथा साहित्यकार दिपेन्द्र राईले विश्व विख्यात होल्याण्डी चित्रकार भ्यान गकको सचित्र जीवनी माथि प्रकाश पारेका थिए । त्यस लगत्तै उपस्थित कवि तथा साहित्यकारहरु रमण गुरुङ, दाजु गुरुङ, सुनिता गिरी, लालबहादुर गुरुङ, डी.बी. पालुङवा लगायतले आफ्ना सृजनाहरु वाचन गरेर सुनाएका थिए भने गीतकारद्धय हेम कुमार लावती र टंक सम्बाहाम्फेले क्रमशः “अरुले मलाई ढाटेकी…”, “मायाको बल्छिमा…” बोलका भर्खरै रेकर्ड भएका आफ्ना गीतहरु सुनाएका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ६ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा, कृति प्रकाशन तथा स्रष्टा सम्मान समेत गर्दै आइरहेको श्रृंखलाले आगामी २४ जुन आइतबार प्रकाशोन्मुख “श्रृंखला भाग–३” पुस्तक सार्वजनिक संगै ७ औं वार्षिकोत्सव मनाउँदै छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार