जेठ २४, २०७५ काठमाडौं–संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा सहभागी भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सो दलसँग कुनै सहकार्य वा गठबन्धन नबनाउने निर्णयमा पुगेको छ । यद्यपी प्रदेश २ मा फोरम नेपालसँगको गठबन्धन कायम राख्ने र सरकार पनि नछाड्ने राजपाले बताएको छ । तीन दिनदेखि जारी राजपा नेपाल अध्यक्ष मण्डलको बैठकले मधेशी जनताको भावना अनुसार गठन भएको कारण सरकार नछाड्ने निर्णय गरेको हो । फोरम नेपाल संघीय सरकारमा सहभागी भएपछि राजपा नेपालले प्रदेश २ को सरकार छाड्ने चर्चा चलेको थियो । राजपा नेपालका महासचिव एवं प्रदेश २ का सांसद मनिष सुमनले बुधवार एक कार्यक्रममार्फत राजपा नेपालले प्रदेश २ को सरकार छाड्ने घोषणा गरेका थिए । यहाँसम्म कि जेठ २५ गते बस्ने राजनीतिक समितिले सो निर्णय गर्ने पनि उनले ठोकुवा गरेका थिए । तर, राजपा नेपालका उच्च तहका नेताहरुले मनिष सुमनले भनेको कुरा आधिकारिक भएको बताएका छन् । अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले राजपा नेपालले प्रदेश नम्बर २ को सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताए । उनले भने, ‘प्रदेश २ को सरकार टेक्निकली गठन भएको सरकार होइन, जनताको म्याण्डेट अनुसार गठन भएको सरकार हो, यसलाई कसैले चाहेर पनि भत्काउन सक्दैन ।’ चुनावको समयमा मधेश सरकार निर्माण गर्ने प्रतिवद्धता अनुसार नै सो सरकार गठन भएको भन्दै उनलेभने, ‘ राजपा नेपाल तोड्ने होइन, जोड्ने काममा लागेको छ ।‘फोरम नेपालको नेतृत्वमा बनेको सरकार हो । सो दलले कुनै कारणवश आफैं भत्कायो भने त्यसमा राजपा नेपाललाई केही भन्नुछैन, तर यही अवस्थामा सरकार नछाड्ने राजपा नेपालले आधिकारिक निर्णय नै गरेको छ ।’, उनले थपे ।
केन्द्र र प्रदेशको कुरा छुट्टा छुट्टै भएको भन्दै यादवले भने, ‘प्रदेशमा जनताको चाहना अनुसार फोरम र राजपा नेपालको गठबन्धन बनेको हो । तर केन्द्रमा अब फोरम नेपालसँग कुनै सहकार्य हुँदैन।’फोरम नेपाल सत्तापक्षका भएका हुनाले केन्द्रमा तत्कालै कुनै सहकार्य नगर्ने राजपा नेपालले निर्णय गरेको छ । केन्द्रमा फोरम नेपालसँग राजपा नेपालको विचार, सिद्धान्त, कार्यनीति लगायतमा लाइन नै फरक रहेको बताइएको छ । फोरम नेपाल नेकपासँग पार्टी एकताको लागि छलफलमा समेत जुटेको छ । यो कुराको खुलासा नेकपामा अध्यक्ष प्रचण्डले जेठ २१ गते पोखरामा पनि गरेका थिए । फोरम नेपाललाई सरकारमा सहभागी गराउन रणनीतिक कदम भएको कुरा प्रचण्डले भनेका थिए । कम्युनिष्ट पृष्ठभूमिका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेकपाको सरकारमा सहभागी हुनुले देशमा केही नराम्रो कुराको संकेत गरेको आशंका राजपा नेपालको रहेको छ । राजपा नेपालका अध्यक्ष मण्डलका एकजना सदस्यले भने, ‘देशका सबै कम्युनिष्ट एक ठाउँ भएका छन् । दुई तिहाई भन्दा बढी बहुमत उनीहरुसँग छन् । पाँच वर्षका लागि बनेको यो सरकारले त्यति बेलासम्म त्यतिकै बस्दैन भने हामीलाई लागेको छ ।’ नेकपासँग एकीकरण नहुने भन्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एउटा विज्ञप्ति जारी गरेका छन् । त्यो विज्ञप्तिलाई पनि राजपा नेपालका नेताहरुले रणनीतिक महत्व विषयको भएको टिप्पणी गरेका छन् ।












