युद्धविराम गर्न तालिबान सहमत………

२७ जेठ २०७५, एजेन्सी 

काबुल – इदका लागि यसै महिनाको अन्त्यतिर अफगान सरकारको फौजसँग तीन दिने युद्धविराम गर्ने तालिबानले घोषणा गरेको छ। अमेरिकी नेतृत्वको गठबन्धनले सन् २००१ मा सत्ताबाट बाहिर पु-याएदेखि तालिबान विद्रोही पहिलो पटक युद्धविराम गर्न सहमत भएको हो। तालिबानको यस्तो घोषणा अफगान सरकारले युद्धविराम गर्ने घोषणा गरेको केही दिनपछि भएको छ। इदको बिदाका बेला सरकारी फौजविरुद्ध कुनै पनि आक्रमण नगर्ने तालिबानले बताएको छ। यद्यपी विदेशी फौजविरुद्ध भने युद्धविराम लागू नहुने तालिबानलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। अफ्गानिस्तानको कान्दुज प्रान्तमा १९ जना अफगान प्रहरीको तालिबान लडाकुले हत्या गरेको केही घण्टापछि यस्तो घोषणा बाहिरिएको हो। बिहीबार तालिबानसँग युद्धविराम गर्ने घोषणा गर्दा अफगान राष्ट्रपति असरफ घानीले युद्धविराम तालिबानलाई आफ्नो हिंसात्मक अभियान समीक्षा गर्ने एक अवसर भएको बताएका थिए। ‘यो युद्धविराम तालिबानलाई आफ्नो हिंसात्मक अभियानले जनताको मत नजितिरहेको बरु जनताले दुःख पाइरहेको भन्ने विषय बुझ्नका लागि अवसर हो,’ राष्ट्रपति घानीले बिहीबार सार्वजनिक गरेको अभिव्यक्ति उद्धृत गर्दै बिबिसीले जनाएको थियो। सरकारले तालिबानसँग मात्रै युद्धविराम हुने तर इस्लामिक स्टेटजस्ता लडाकु समूहसँग भने युद्धविराम नहुने बताएको थियो। गत शनिबार धार्मिक नेताहरुको एक महत्वपूर्ण भेलाले विद्रोही हिंसालाई इस्लामविरोधी भन्दै फतवा जारी गरेको थियो। त्यतिखेर उक्त भेलालाई निशाना गर्दै इस्लामिक स्टेट (आइएस)ले आत्मघाती हमला गरेको थियो। राष्ट्रपति घानीले उनको सरकारले धार्मिक नेताहरुको भेलाको निर्णयलाई समर्थन गरेको बताएका थिए। सरकारले तालिबानसँग सर्तरहित युद्धविरामको घोषणा गर्न धार्मिक नेताहरुको भेला पनि महत्वपूर्ण भएको बताइएको छ। अफगान सरकार र तालिबान दुवैले गरेको युद्धविरामको घोषणालाई वासिङ्टनस्थित अमेरिकी विदेश मन्त्रालयले स्वागत गरेको छ। अफगान सरकारले गर्ने जस्तोसुकै निर्णय आफू र अमेरिकी गठबन्धन दुवैले स्वागत गर्ने बताएको हो। अफ्गानिस्तानमा रहेका विदेशी सेना हाल घटाएर १५ हजार पु-याइए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष अफ्गानिस्तानमा थप हवाइ हमला गर्ने घोषणा गरेका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार