राजपा नेपालको अध्यक्ष मण्डल नरहने ………….

असार २४, २०७५  काठमाडौं –अन्ततः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डल नरहने भएको छ । केही दिन पहिलो रातोपाटीले राजपा नेपालमा अध्यक्ष मण्डल रहन्छ कि रहदैन भनेर रिपोर्ट प्रकाशित गरेको थियो । असार ४ देखि ६ गतेसम्म बसेको राजपा नेपालको अध्यक्ष मण्डलको बैठकमा तीनजना अध्यक्षले पेस गरेका छुट्टाछुट्टै विधानको मस्यौदाको आधारमा हामीले रिर्पोर्ट बनाएका थियौँ । बैठकमा अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, अनिलकुमार झा र महेन्द्र राय यादवले विधानको मस्यौदा प्रस्तुत गरेका थिए । सो विधानमा राजेन्द्र महतो अध्यक्ष मण्डल राख्ने कि नराख्ने विषयमा मौन थिए भने अनिल कुमार झा र महेन्द्र राय यादवले अध्यक्ष मण्डलको प्रावधानलाई कायम राखेका थिए । यद्यपी विधानमा अध्यक्षमण्डलको प्रावधान उल्लेख गरेपनि महेन्द्र राय यादवले मौखिक रुपमा अध्यक्ष मण्डल भन्दा एकल अध्यक्ष राम्रो हुने धारणा राखेका थिए । त्यस्तै, अनिल कुमार झाले अध्यक्ष मण्डलको प्रावधान उल्लेख गरेपनि सो विधानको अन्तिममा विकल्पको रुपमा एकल अध्यक्ष हुनुपर्ने उल्लेख गरेका थिए । तीन जनाले प्रस्तुत गरेका विधानको बारेमा अध्ययन गरि एकीकृत विधान बनाउनका लागि लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र वृषेशचन्द्र लाल रहने गरि पार्टीले एउटा कार्यदल बनाएको थियो । सो कार्यदलले असार २१ गतदेखि शुरु भएको राजनीतिक समितिको बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ । सो विधानमा अध्यक्ष मण्डलका प्रावधानलाई हटाएर एकल अध्यक्षको व्यवस्था गरेको छ । यद्यपी एकल अध्यक्षको व्यवस्था गरेपनि वरिष्ठ एवं प्रमुख नेताहरुलाई व्यवस्थित गर्नका लागि १४ सदस्यीय एउटा कार्यकारिणी सल्लाहकारको व्यवस्था समेतको प्रस्ताव गरिएको छ । राजपा नेपाका एक नेताले भने, ‘कार्यकारिणी सल्लाहकार समितिले अध्यक्षलाई सल्लाह दिनेछ । अध्यक्षले सल्लाहकारको सल्लाहको आधारमा काम गर्नुपर्ने देखिन्छ । जारी राजनीतिक समिति बैठकमा बोल्ने बहुमत सदस्यबाट अध्यक्षमण्डल भंग गर्नुपर्ने सुझाव आएको पार्टी महासचिव एवं प्रवक्ता केशव झाले जानकारी दिए । बैठकमा राजनीतिक समितिका सबै सदस्यले आआफ्नो धारणा राखि सकेका छन् । बैठकमा अध्यक्ष मण्डलका छजना सदस्यले आआफ्नो धारणा राखिरहेका छन् । उनीहरुले कुरा राखेपछि निर्णय सार्वजनिक हुने बताइएको छ । महाधिवेशनपछि एकजना अध्यक्ष, दुईजना सहअध्यक्ष, तीनजना महासचिव, तीनजना सहअध्यक्ष, एकजना कोषाध्यक्ष र एकजना प्रवक्ता रहने मस्यौदा विधानमा उल्लेख भएको स्रोतले जनाएको छ । २०७४ बैशाख ७ गते विभिन्न ६ वटा मधेशवादी पार्टी मिलेर राजपा नेपाल बनेको थियो । भिन्दाभिन्दै पार्टीका अध्यक्ष अध्यक्षमण्डलमा रहने गरी पार्टी एकता भएको थियो । हालसम्म अध्यक्षमण्डलको संयोजकमा चाहिँ महन्थ ठाकुर छन् ।

राजपालाई फैलाउने कि प्रदेश २ मा सिमित राख्ने ?

राजनीतिक समितिको बैठकमा राजपालाई प्रदेश २ मा मात्र सिमित राख्ने कि देशैभर फैलाउने चर्चा भएको छ । राजपा नेपाललाई दुई नम्बर प्रदेशमा मात्र सीमित गरेको भन्दै नेताहरुले गुनासो गरेका छन् । स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा चुनावमा समेत राजपा नेपाल प्रदेश २ मा सीमित रह्यो । त्यसले थुप्रै नेताहरु रुष्ट भएर पार्टी पनि छाडेका छन् । अब पनि प्रदेश २ मै सीमित राख्ने हो भने आउने चुनावमा राजपा नेपाललाई गाह्रो हुने सुझाव गोविन्द चौधरीलगायतका नेताहरुले दिएका छन् । राजपा नेपालको संगठन देशैभरि बनाउन नसकेपनि मधेशको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म दुई प्रदेशको अवधारणामा संगठन बनाउने सुझाव आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार