दुई दर्जन बढी विदेशी पाइलट लिँदै …………

२७ असार २०७५,  काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न विदेशी पाइलट करारमा नियुक्त गर्ने घोषणा गरेको छ । सकेसम्म स्वदेशी पाइलट लिने नीति भए पनि केही वर्षसम्म विदेशी पाइलट लिएर उडान सञ्चालन गर्ने निगमको योजना छ।  हाल निगममा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ गरी ८८ जना पाइलट कार्यरत छन् । ती पाइलटले २ सय ७४ सिट क्षमतायुक्त एकथान ‘ए३३०–२००’, १ सय ९० सिटे ‘बि७५७–२००’, १ सय ५८ सिटे दुईथान ‘ए३२–२००’, ५८ सिटे दुईथान ‘मोडर्न आर्क–६०’ (एमए–६०), १९ सिटे दुईथान ‘डिएचसी६ ट्विनअटर’ र १७ सिट क्षमतायुक्त चारथान ‘वाई१२–ई’ सिरिजका गरी १२ थान जहाज छन् । आगामी तीन साताभित्र २ सय ७४ सिटे दोस्रो ए३३०–२०० आउँदै छ । हालका लागि ती १३ थान जहाजलाई अधिकतम उडानमा प्रयोग गर्न स्वदेशी पाइलटबाट मात्र सम्भव छैन, त्यही भएर केही वर्षसम्म विदेशी पाइलट करारमा भर्ना गर्ने योजना छ,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यसमा लाग्ने खर्चबारे हामीले हिसाब निकालेका छौं। उनका अनुसार चिनियाँ जहाज वाई१२–ई र क्यानेडियन जहाज ट्विनअटर उडाउन विदेशी क्याप्टेन करारमा नियुक्त गर्दा मासिक अन्दाजी करसहित १२ लाख लाख रुपैयाँ लाग्ने छ भने ठूलो (वाइड बडी) आकारको जहाज ए३३०–२०० मा क्याप्टेन लिँदा मासिक १८ लाख र यसैको कोपाइलट लिँदा महिनाको १२ लाख रुपैयाँ लाग्ने छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै पाइलट अभाव भइरहेका बेला जहाज थप्दै सेवा विस्तार गर्ने हो भने केही वर्षका लागि विदेशी पाइलटको भरपर्नुको विकल्प छैन,’ कंसाकारले भने, ‘त्यसकारण यही नीतिअनुसार सकेसम्म नेपाली पाइलटलाई स्थायी तथा करारमा नियुक्त गर्दै जाने र अपुग पाइलट भने विदेशीलाई करारमा नियुक्त गरेर पूर्ति गरिने छ। निगमसँग हाल १२ जहाज उडाउन ८८ पाइलट भए पनि ती पर्याप्त नरहेको कंसाकारको भनाइ छ । तीन सातापछि आउने अर्को वाइड बडी जहाज थपिएपछि १३ जहाज उडाउन १ सय १६ जना पाइलट चाहिने उनले बताए । अपुग २८ पाइलट सकेसम्म स्वदेशी र नभएमात्र विदेशी करारमा लिने योजना उनले सुनाए।

तलबभत्ता मासिक १२ देखि १८ लाख

उनका अनुसार चिनियाँ जहाज एमए–६० उडाउन भने पर्याप्त पाइलट छन् । वाई१२–ई उडाउन चारजना क्याप्टेन छन् । चारथान वाई१२–ई लाई पूर्णक्षमतामा उडाउन आठ क्याप्टेन चाहिन्छ । यी दुवै जहाजलाई चाहिने कोपाइलट निगमभित्रैबाट व्यवस्थापन गर्न सकिने छ ।त्यसैगरी दुईथान ट्विनअटर उडाउन पनि पर्याप्त पाइलट छन् । ए३२० जहाज उडाउन हाल करसहित मासिक १५ लाख रुपैयाँ तलब दिएर तीनजना पाइलट राखिएको महाप्रबन्धक कंसाकारले बताए । वाइड बडी जहाजका लागि भने केही महिनाभित्र निगमकै ६ क्याप्टेन र ६ कोपाइलट तयार हुने उनले बताए । ‘दुइटै वाइड बडीलाई पूर्णक्षमतामा उडाउन बाँकी १२ क्याप्टेन र १२ कोपाइलट भने विदेशी नै लिनुपर्ने अवस्था छ,’ उनले भने । केही समयअघि २३ जना पाइलट स्थायी भर्ना गर्न सूचना जारी गर्दा बल्लबल्ल १९ जनाको आवेदन परेको र तीमध्ये पनि ८ जना अनुत्तीर्ण हुँदा ११ जनामात्र सफल भएका थिए । ‘अहिले नेपाली पाइलट पाउन असाध्यै गाह्रो छ,’ कंसाकारले भने, ‘नेपाली नै नपाएपछि विदेशीको भर पर्नुको विकल्प हामीसँग छैन।’ आन्तरिक उडान गर्न ८ थान जहाज भए पनि पर्याप्त बजार हिस्सा ओगट्न नसकेको भन्दै कंसाकारले अब आन्तरिक उडानलाई छुट्टै ‘विङ’ का रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । मुलुकको आन्तरिक उडान बजारमा निगमको हिस्सा ३ प्रतिशतमात्र रहेको उनले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार