डुबानमा भक्तपुर: तीनको मृत्यु, ५०० परिवार विस्थापित

मृतक परिवारलाई जनही १ लाख, विस्थापितलाई १० हजार दिइने

  बगैचा सम्वाददाता

काठमाडौँ

सरकारले अविरल वर्षाका कारण भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा बागेहिटीमा पहिरोले टहरा पुरिँदा मृत्यु भएकाका परिवारलाई जनही १ लाख रुपैयाँ राहत दिने भएको छ । बिहीबार गृह मन्त्रालयले एक विज्ञप्ति निकालेर अविरल वर्षापछि आएको पहिरोले टहरो पुरिँदा मृत्यु भएका एकै घरका तीन जनालाई जिल्ला विपद् व्यवस्थापन समितिबाट जनही एक लाख राहत वितरण गर्ने निर्णय भएको जनाएको छ । बुधबार रातिदेखिको वर्षाका कारण घरपछाडिबाट पहिरो खस्दा ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र नातिनी २ वर्षीय सम्पदा लामाको मृत्यु भएको थियो।

त्यस्तै उक्त क्षेत्रका बाढी र पहिरोबाट विस्थापितको प्रतिपरिवारलाई १० हजार राहत तत्काल वितरण गर्ने निर्णय पनि भएको विज्ञप्तिमा उल्लेख छ । लगातारको वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वर्षाका कारण सयौं घर, विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार क्षेत्र, राधेराधे क्षेत्र, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौं घर डुबानमा परेका छन् । त्यसैगरी भक्तपुरको जगाते, हनुमान घाट, बाराही क्षेत्र आसपासका घरहरु, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति निकेतन मावि लगायतका बिभिन्न विद्यालयहरु समेत डुबानमा छन् ।बुधबार रातिदेखिको पानीले काठमाडौं उपत्यकाका तीनै जिल्ला, उपत्यका बाहिरका काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङ, रसुवा, गोरखालगायत जिल्ला प्रभावित भएको भन्दै मन्त्रालयले ती क्षेत्रहरुमा नेपाली सेना, प्रहरी उद्धारमा खटाइएको बताएको छ। यस्तै सिन्धुली-धुलिखेल सडक विभिन्न स्थान पहिरोका कारण अवरुद्ध भएकोले आवागमन खुलाउन कार्य भइरहेको पनि जनाइएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार